• १४ वैशाख २०८३, सोमबार

अव्यवस्थित बस्ती हटाइएका स्थान संरक्षण गर्न निर्देशन

blog

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल थापाथलीस्थित बागमती नदी किनारामा शनिबार खाली गराइएको स्थानको आइतबार निरीक्षण गर्नुहुँदै । तस्बिर :काठमाडौँ महानगरपालिका

काठमाडौँ, वैशाख १४ गते । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुमवासी बस्ती हटाइएपछि खाली गरिएका सार्वजनिक जग्गाको संरक्षणका लागि तत्काल काम थाल्न निर्देशन दिनुभएको छ ।

थापाथलीस्थित बागमती नदी किनारामा शनिबार खाली गराइएको स्थानको आइतबार निरीक्षण गर्दै उहाँले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाल तथा आगामी दिनमा खाली गरिने स्थानहरूको सुरक्षा र संरक्षणका लागि तारबार लगाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति तथा अन्य सरोकारवाला निकायसँग समन्वय गर्न निर्देशन दिनुभयो । साथै, सार्वजनिक निर्माण विभागमार्फत तारबारको काम अघि बढाउन पनि उहाँले निर्देशन दिनुभयो ।

त्यसैगरी आइतबार कार्यवाहक प्रमुख डङ्गोलले नागार्जुनको इचङ्गुस्थित कोलोनीको भौतिक अवस्थाको पनि निरीक्षण गर्नुभएको थियो । अव्यवस्थित बस्तीका वास्तविक भूमिहीनहरूलाई ती भवनहरूमा स्थानान्तरण गर्ने योजना रहेको छ ।


नदी किनारका सार्वजनिक तथा सरकारी पर्ती जग्गामा बनेका अनधिकृत संरचना हटाउने क्रममा बागमती नदी खण्डको थापाथली क्षेत्रको बस्ती वैशाख १२ गते खाली गरी सकिएको हो । त्यसअघि नै महानगरपालिकाले अनधिकृत बस्तीमा बसोवास गरिरहेका व्यक्तिहरूलाई आफैँ स्थान खाली गर्न सूचित गरेको थियो ।

सूचनाको पालना गर्दै शुक्रबार केही परिवारले स्वेच्छिक रूपमा घरटहरा खाली गरेका थिए भने सो प्रक्रिया शनिबार बिहानसम्म जारी रह्यो । पछि स्थानीय प्रशासनले बिहान ६ बजेदेखि सुरु गर्ने भनिएको भत्काउने कार्य केही समय पछि सारेर स्वेच्छिक खाली गर्न अवसर दिएको थियो । करिब ८ बजेदेखि संरचना हटाउने काम सुरु गरिएको थियो ।

वडा नं. ११ का अध्यक्ष तथा महानगर भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारका अनुसार वडाभित्र थापाथली र वंशीघाट क्षेत्रमा गरी ३३२ वटा घरटहरा थिए । थापाथली क्षेत्रमा रहेका १३६ घरटहरा भत्काइएको छ । वंशीघाट क्षेत्रमा भने १९६ घरटहरा रहेका छन् ।

महानगर प्रहरीले स्थान खाली गर्ने क्रममा सवारी साधन र जनशक्ति परिचालन गरी सामग्री सार्न सहयोग गरेको थियो । यो क्षेत्र प्रसूति गृह पछाडि पर्छ भने वंशीघाट क्षेत्र विश्व निकेतन विद्यालय पछाडि पर्छ ।

त्यसैगरी, बागमती नदी खण्डको सिनामङ्गलदेखि बानेश्वरसम्मको क्षेत्रमा वडा नं. ९ मा १६२ घरधुरी र वडा नं. ३१ को दीर्घशान्ति टोल (जागृतिनगर) मा ४७६ घरटहरा रहेको तथ्याङ्क छ । यीमध्ये वडा नं. ९ का संरचना वैशाख १२ गते खाली गरिएका थिए भने वडा नं.३१ मा केही संरचना बाँकी रहेका छन् ।


आइतबार मनोहरा क्षेत्रमा जनशक्ति र स्रोत साधन केन्द्रित गरिएको थियो । महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार दिउँसो १ बजेदेखि जागृतिनगर क्षेत्रमा घरटहरा भत्काउने काम पुनः सुरु गरिएको हो ।

हाल जागृतिनगर र मनोहरा नदी खण्डमा काठमाडौँ र मध्यपुर थिमितर्फ दुवै पक्षमा काम भइरहेको छ ।

उपत्यका विकास प्राधिकरणका अनुसार वडा नं. १५ को स्वयम्भू वन परिक्रमा मार्गमा ४६ घरधुरी, वडा नं. १६ मा १९९ घरधुरी, वडा नं. ३२ जडीबुटी क्षेत्रमा ११४ घरधुरी, वडा नं. १४ मा ४०१ घरधुरी तथा वडा नं. २९ अनामनगरमा २३ घरधुरी सार्वजनिक तथा पर्ती जग्गामा रहेको देखिएको छ ।

त्यस्तै वडा नं. १० मा देवीनगर, विनायकनगर र शङ्खमूल क्षेत्रमा करिब २३० परिवार बसोवास गर्दै आएका छन् । वडा नं. ६ अन्तर्गत रामहिटी, सुविगाउँ, रेम्बोडाँडा, शान्तिनगर, चुच्चेपाटी र कुमारीगाल क्षेत्रमा पनि अव्यवस्थित बस्ती रहेको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २०७९ सालको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा करिब ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोवासी रहेको देखिएको छ । काठमाडौँ उपत्यकामा हाल झण्डै चार हजारसम्म अव्यवस्थित बसोवासी रहेको अनुमान गरिएको छ ।