• १४ वैशाख २०८३, सोमबार

निसीखोला गाउँपालिकाको प्रगति ५२ प्रतिशत

blog

निसीखोला गाउँपालिका–३ मा आयोजित पालिकास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम । तस्बिरः नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), वैशाख १४ गते ।
बागलुङको निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा ५२ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ ।

गाउँपालिकाको बोहोरागाउँमा आयोजित आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले ५३ करोड ९१ लाख रुपियाँ बजेटमध्ये हालसम्म ३९ करोड ७१ लाख रुपियाँ आम्दानी भइसकेको र वैशाखको पहिलो सातासम्म २८ करोड ४३ लाख रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पूँजीगत खर्चतर्फ २८ प्रतिशत प्रगति भएको छ । कुल १७१ योजनामध्ये १२४ योजना सम्झौता भइसकेका छन् भने ६१ योजना सम्पन्न भइसकेका छन् ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकहरूले जनप्रतिनिधि र कर्मचारीलाई विकास निर्माण तथा सुशासनमा थप ध्यान दिन आग्रह गरेका थिए । गाउँपालिकाले चालु वर्षमा रिग ताल क्षेत्रमा पूर्वाधार निर्माण तथा प्रशासकीय भवन विस्तार गर्ने योजना रहेको जनाएको छ ।

कार्यक्रममा नागरिकहरूले सुशासन, पारदर्शिता र जवाफदेहितासम्बन्धी विभिन्न प्रश्न उठाएका थिए भने महत्वपूर्ण सुझाव पनि दिएका थिए । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, मोटरबाटो, झोलुङ्गे पुल, विकास योजना, राजस्व तथा कर असुली, कर्मचारी व्यवस्थापन र सेवा प्रवाहजस्ता विषयमा बढी चासो व्यक्त गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगर, प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगर, विभिन्न वडाका अध्यक्ष तथा विषयगत शाखाका प्रमुखहरूले उठाइएका प्रश्नको जवाफ दिनुभयो ।

कार्यक्रममा पत्रकार संगम घर्ती मगरले नागरिक सन्तुष्टि फारामका आधारमा गरिएको नमूना सर्वेक्षणको नतिजा प्रस्तुत गर्नुभएको थियो भने पत्रकार विनोद प्रतीक थापाले सार्वजनिक सुनुवाइको कानुनी पक्ष र आचारसंहिताबारे जानकारी दिनुभएको थियो ।

निसीखोला गाउँपालिका–३ का वडा अध्यक्ष रमेश विक्रम शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ बागलुङका सह–सचिव डम्मर बुढामगरले गर्नुभएको थियो ।