धनगढी, वैशाख १२ गते । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले विकसित राष्ट्रसँग तुलना गरेर मुलुकमा निराशा फैलाउने कार्य भइरहेको बताउनुभएको छ ।
नेपाल वितरक महासङ्घको १४ औँ वार्षिक साधारण सभालाई आज धनगढीमा उद्घाटन गर्दै उहाँले अमेरिका, अस्ट्रेलिया र जापानसँग तुलना गरेर नेपालमा केही हुन्न भन्ने धारणा फैलाउनु गलत रहेको बताउनुभयो । नेपालमा सम्भावना छैन भन्नु भ्रम मात्र भएको उल्लेख गर्दै प्रदेश प्रमुख मियाँले प्राकृतिक, आर्थिक र मानवीय स्रोतका हिसाबले मुलुक समृद्ध रहेको चर्चा गर्नुभयो ।
प्रदेश प्रमुख मियाँले नेपालले छोटो अवधिमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “भएको कामभन्दा नभएको कामको बढी प्रचार गरेर नकारात्मकता फैलाउने कार्यले समाजमा निराशाको बिउ छरिरहेको छ ।” उहाँले सुदूरपश्चिम प्रदेश सम्भावनाको खानी रहेको समेत बताउनुभयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले पर्याप्त लगानीको अभावका कारण सुदूरपश्चिमका सम्भावनालाई उजागर गर्न नसकिएको बताउनुभयो । उहाँले निजी क्षेत्र र सरकार मिलेर लगानीको वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँसहित विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।