• १२ वैशाख २०८३, शनिबार

आत्मविश्वास नै जितको मुख्य आधार : कप्तान पौडेल

blog

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल ।

काठमाडौँ, वैशाख १२ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले युएईविरुद्धको खेलमा टोलीले देखाएको जुझारुपन र आत्मविश्वास नै जितको मुख्य आधार रहेको बताउनुभएको छ । खेलपश्चात्को अन्तरवार्तामा कप्तान पौडेलले पहिलो इनिङ्समा ब्याटिङ अपेक्षाअनुसार नभए तापनि २०० रनको योगफलमा पनि आफूहरूलाई जित्ने विश्वास रहेको उल्लेख गर्नुभयो ।

बलरको प्रदर्शनबारे चर्चा गर्दै उहाँले सोमपाल कामीको स्पेललाई खेलको टर्निङ प्वाइन्ट मान्नुभएको छ । मोहम्मद वसिम र अक्षदीप नाथबिचको बलियो साझेदारी तोड्न सोमपालले लिएका दुई विकेट नै खेलको नतिजा बदल्न सफल भएको उहाँको ठहर छ । माथिल्लो क्रमको ब्याटिङमा देखिएको चुनौतीबारे रोहितले टोलीमा अहिले स्वस्थ प्रतिस्पर्धा रहेको बताउनुभयो । सबै खेलाडीले मिहिनेत गरिरहेका र सिनियर खेलाडीको विगत दुई–तीन वर्षको योगदान एवं अनुभवलाई बिर्सन नहुने उहाँको भनाइ छ ।

विश्वकप लिग–२ को दबाबका बारेमा बोल्दै कप्तान पौडेलले यसअघिका सफलताले टोलीलाई ऊर्जा प्रदान गरेको बताउनुभयो । अब हुने ओमनविरुद्धको खेलका बारेमा चर्चा गर्दै उहाँले ओमन बलियो टोली भएकाले उनीहरूलाई हलुका रूपमा लिन नहुने धारणा राख्नुभयो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा युएई नेपालसँग ३७ रनले पराजित भएको हो । खेलपछि कुराकानी गर्दै युएईका कप्तानले हारको मुख्य कारण ब्याटिङको खराब प्रदर्शनलाई मान्नुभएको छ । दुई सय रनको चुनौती पछ्याउने क्रममा ब्याटिङमा देखिएको कमजोरीले टोलीलाई असफलता दिलाएको उहाँले स्वीकार गर्नुभयो । आफू र अक्षदीप क्रिजमा रहँदा टोली बलियो अवस्थामा भए तापनि त्यसपछि लगातार विकेट गुमाउनु हारको कारण बनेको उहाँले औँल्याउनुभयो ।

युएईका कप्तानले नेपालको बलिङसँगै उत्कृष्ट फिल्डिङको समेत प्रशंसा गर्नुभयो । लिग–२ को अङ्क तालिकामा दुवै टोलीका लागि आगामी खेल अत्यन्त महत्त्वपूर्ण रहेका छन् ।