• ७ जेठ २०८१, सोमबार

खोलाको कटान रोक्न अस्थायी बार पाईलिङ

blog

दमक, साउन ११ गते । झापामा बिभिन्न खोलाहरुले कटान तिब्र बनाएपछि अस्थाई रुपमा खोला नियण्त्रणका लागि बाँसको बार (पाईलिङ) लगाउने कार्य बढ्दै गएको छ । नदी मोडिएर बाँध कटान गर्ने तथा क्षति पुर्याउने अवस्था उत्पन्न भएमा बाँसका किला र बार लगाएर पानीको बहाव नियन्त्रण गर्ने र फर्काउने अस्थायी प्रविधि (पाइलिङ) अपनाउने कार्य बढ्दै गएको पाईएको हो ।

रतुवा, कमल÷बनियानी लगायतका खोलाले बर्षेनी क्षति गर्दै आएको दमक नगरपालिका र कमल गाँउपालिकाको कटान क्षेत्रमा बाँसको पाईलिङ लगाएर कटान रोक्ने तथा खोला बस्तिमा पस्नबाट जोगाउने कार्य हुँदै आएपनि यो दिर्घकालीन नहुने भएकाले ठुलो बाढी आँउदा बगाउने र अस्थाई रुपमा खोला नियण्त्रणका लागि ठुलो खर्च राज्यको सकिने गरेको पनि आरोप लाग्ने गरेको छ ।

प्रति एकसय मिटर क्षेत्रफलमा बाँस पाइलिङ गर्दा ४ लाखदेखि साढे ४ लाख रुपैयाँ खर्च हुने गरेको बताईएको छ । कतिपय ठाँउमा बाढीले बगाएर लैजदा बाँसमा गरिएको लगानी ‘बालुवामा पानी’ समेत हुने गरेको छ ।


दमक वडा नं. ७ का वडाध्यक्ष भीम पौड्यालका अनुसार आफुहरुले इस्थाई प्रकृतीको बाँध बनाउने कार्यलाई प्राथमिकता दिएपनि बाँसको पाईलिङ गरेर भएपनि खोला नियण्त्रणको प्रयास समेत गरेको बताउनु भयो । उहाँका अनुसार दमकको बिपन्न आवास अर्थात नमुना बस्ति छेउमा समेत बाँसको पाईलिङले काम गरेको छ ।

गौरादह नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष तोयानाथ प्रसाईका अनुसार बाँसको प्रयोगले जेनतेन बाढिबाट स्थानीयलाई जोगाएपनि बर्षामा भने निक्कै समस्या भएको छ । प्रसाईका अनुसार तत्काल बर्षाको समयमा अस्थाई रुपमा बाँसको प्रयोगले खोला नियण्त्रणको प्रयास प्रभावकारी भएपनि दिर्घकालीन समस्याको सामधान यो नभएको बताउनुभयो ।

गौरादहको तेलियाडाँगी, टँगुवा, चप्रामारी, दामुना लगायतका स्थानका बस्ती बचाउँन गौरादह नगरपालिकाको आग्रहमा नताको तटबन्ध कार्यक्रमको सहयोगमा बाँसको बाँध निर्माणको काम भएको पनि बताईएको छ । खोला नियण्त्रणको लागि काम गर्दै आएको जनताको तटबन्धनले नै केहि बर्ष अघिदेखि यो कार्य पनि गर्दै आएको छ ।

कमल गाँउपालिकाको पनि बाढीको उच्च जोखिम भएका क्षेत्र र बाढी बस्तिमा पसेको ठाँउहरुमा बाँसको पाईलिङ मार्फत अस्थाई रुपमा भएपनि खोला नियण्त्रणको काम भएको गाँउपालिका अध्यक्ष हुकुमसिंह राईले बताउनुभयो । बाँसको प्रयोग गरेर भएपनि आपतमा जनताको जिउधनको रक्षा गर्नका लागि हामी लागि परेकाछौ, राईले भन्नुभयो ।

खोला बाँध बाध्ने कार्य स्थानीय सरकार आफैले गर्न मुश्किल छ यहि कारणले खोलाको दिर्घकालीन नियण्त्रणका लागि प्रदेश र संघीय सरकारसंग माग गरिदै आएको उहाँले जानकारी दिनु भयो । हाम्रो पालिकाको प्रमुख समस्याको रुपमा रहेको कटान तथा बाढीको समस्या सामधानका लागि आवश्यक कार्यका लागि हामीले माग गरिरहेका छौ, उहाँको भनाई रहेको छ ।


Author

विष्णुप्रसाद पोखरेल