• ९ वैशाख २०८३, बुधबार

ढापुक भलिबल क्लबलाई उपाधि

blog

अर्जुन काफ्ले
स्याङ्जा, वैशाख ९ गते ।
नयाँ वर्ष २०८३ को अवसरमा अर्जुनचौपारी गाउँपालिका–१ दारेगौंडामा आयोजित खुला भलिबल प्रतियोगिताको उपाधि भीरकोट नगरपालिका–८ ढापुक भलिबल क्लबले जितेको छ।

गुप्तेश्वर युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा ढापुकले आयोजक ‘रातो’ टिमलाई २–० को सोझो सेटमा २५–१५ र २५–१४ अंकले पराजित गरेको हो।

उपाधिसँगै विजेता ढापुकले नगद ६१ हजार १११ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै उपविजेता बनेको आयोजक ‘रातो’ टिमले ४१ हजार १११ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो।

तृतीय स्थान अर्जुनचौपारी गाउँपालिका–५ आरुचौर भलिबल टिमले हासिल गर्दै २१ हजार १११ रुपियाँ प्राप्त गरेको छ भने भीरकोट नगरपालिका–७ तिलाहर भलिबल टिमले सान्त्वना स्थान प्राप्त गर्दै ११ हजार १११ रुपैयाँ पाएको क्लबका अध्यक्ष हिमेश परियारले बताउनुभयो।

प्रतियोगितामा उत्कृष्ट खेलाडी ओमन गुरुङ (ढापुक), मिडल ब्लकर अमृत सुनार (ढापुक), उत्कृष्ट सेटर मिलन गुरुङ (ढापुक), उत्कृष्ट स्पाइकर प्रवेश अधिकारी क्षेत्री (आरुचौर) र उत्कृष्ट लिब्रो निरन परियार (आयोजक) घोषित भएका थिए।

विजेतालाई समाजसेवी टुकराज अर्यालले पुरस्कार वितरण गर्नुभएको थियो। वैशाख १ गतेबाट सञ्चालन गरिएको प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो।