• ८ वैशाख २०८३, मङ्गलबार

बस्नु पर्दैन लाइन घरमै पुग्छ राहदानी

blog

जनताको घरदैलोमा हुलाकमार्फत राहदानी पठाउँदै जिल्ला प्रशासन कार्यालय कैलाली । तस्बिर : कृतबहादुर विष्ट

फूलबारी समाचारदाता

फूलबारी (कैलाली), वैशाख ८ गते । जिल्ला प्रशासन कार्यालय (जिप्रका) कैलालीले जनताको घरदैलोमै सेवा प्रदान गर्ने व्यवस्था सुरु गरेको छ । सङ्घीय सरकारको नीति अनुसार जिप्रकाले राहदानी, नागरिकता राष्ट्रिय परिचयपत्र हुलाकमार्फत घरमै पठाउने कार्यको औपचारिक सुरुवात गरेको हो । 

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख हिरालाल रेग्मीले सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सोमबार दुई जना सेवाग्राहीका राहदानी हुलाकमार्फत पठाएर सेवाको सुरुवात गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अब सेवाग्राहीले लामो समय लाइनमा बस्नुपर्ने झन्झट अन्त्य हुँदै गएको छ । कार्यालयबाट प्रदान गरिने सेवा जनताको घरमै पु¥याउने लक्ष्यका साथ काम अगाडि बढाएका छौँ ।” 

प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार तत्काललाई राहदानी हुलाकमार्फत  सेवाग्राहीको घरमै पठाउने व्यवस्था गरिएको छ । उहाँले आगामी दिनमा अन्य सेवालाई पनि जनताको घरमै पु¥याउने गरेर काम भइरहेको बताउनुभयो ।