शेरबहादुर सार्की
बाजुरा, वैशाख ४ गते । बाजुराका अधिकांश किसानमा स्याउ खेतीप्रति आकर्षण बढ्दै गएको छ । गाउँबस्तीमा सडक सञ्जालको पहुँच विस्तार भएसँगै उत्पादन गरिएको स्याउ देशका ठूला सहरसम्म बिक्री हुन थालेपछि किसानको चासो बढेको हो ।
पहिले सडक सुविधा नहुँदा किसानहरू स्याउ खेतीतर्फ खासै आकर्षित थिएनन् । तर, अहिले सडक पहुँच विस्तार भएसँगै उत्पादन बजारसम्म पुर्याउन सहज भएको छ ।
बुढीनन्दा नगरपालिका–८ का कृषक चक्रबहादुर कठायतले स्याउ खेतीले जीविकोपार्जनमा सहजता ल्याएको बताउनुभयो । “पहिला गाउँमा सडक थिएन, गाडी आउँदैनथ्यो । अहिले घरआँगनमै गाडी आउन थालेपछि उत्पादन गरिएको स्याउ बजारमा बिक्री गर्न सजिलो भएको छ,” उहाँले भन्नुभयो ।
पहिले धान, गहुँ, जौलगायतका अन्नबाली बढी लगाउने किसान अहिले भने स्याउ खेतीतर्फ आकर्षित भएका छन् । स्याउ खेतीबाट आम्दानी राम्रो हुन थालेपछि धेरैले अन्नबालीको ठाउँमा स्याउ रोप्न थालेका छन् ।
जिल्लाको हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा र खप्तड छेडेदह क्षेत्रमा स्याउ उत्पादन हुँदै आएको छ । तीमध्ये बडिमालिका नगरपालिका–९ र १० को पाण्डुसैन क्षेत्रमा सबैभन्दा बढी उत्पादन हुने गर्दछ ।
पछिल्लो समय गौमुल, बडिमालिका र बुढीगङ्गा नगरपालिकामा पनि स्याउ उत्पादन विस्तार हुँदै गएको छ । बाजुरामा उत्पादन हुने अर्गानिक स्याउ देशका विभिन्न सहरमा पुग्न थालेको छ ।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार जिल्लामा करिब १७० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ । “पहिले उत्पादन भएको स्याउ बिक्री नहुँदा किसानले गाई–गोरुलाई खुवाउनुपर्थ्यो । अहिले भने ढुवानी अनुदानका कारण स्याउ देशका विभिन्न सहरमा बिक्री हुन थालेको छ,” उहाँले भन्नुभयो ।
पहिले स्थानीय (लोकल) जातका स्याउ मात्र उत्पादन हुने बाजुरामा अहिले फुजी, गाला र गोल्डेन जातका स्याउ पनि उत्पादन हुन थालेका छन् । गत वर्ष जिल्लामा करिब एक हजार २० मेट्रिक टन स्याउ उत्पादन भएकोमा झन्डै ६ सय मेट्रिक टन विभिन्न सहरमा बिक्री गरिएको कार्यालयले जनाएको छ ।