प्रेमराज सिम्खडा
कालीकोट, वैशाख ४ गते । कालीकोट जिल्लाको गगनेखोला सडक खण्डमा हरेक वर्ष वर्षायाम सुरु हुनासाथ पहिरो जाने र सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ । वर्षौँदेखि उस्तै समस्या रहँदा पनि दीर्घकालीन समाधानका लागि ठोस योजना नबनाइएकाले स्थानीयमा त्रास बढेको छ ।
सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ मा पर्ने गगनेखोला खण्डमा बर्खायाम मात्र होइन, सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने समस्या रहेको छ । शुभकालिका गाउँपालिकाका निवर्तमान अध्यक्ष खडानन्द चौलागाईंका अनुसार २०७५ सालयता गगनेखोलाको पहिरोले यातायातमा प्रत्यक्ष असर पार्दै आएको छ ।
“हामी सत्तामा हुँदा पहिरो पन्छाउने काममा सहयोग गरेका थियौँ । पछि महालेखा परीक्षकको कार्यालयले राजमार्गको पहिरो पन्छाउने काम स्थानीय तहको नभएको भन्दै बेरुजु लेखेपछि काम रोकियो,” उहाँले भन्नुभयो । संघ र प्रदेशअन्तर्गतका निकायले दीर्घकालीन समाधान नल्याउँदा वर्षा सुरु भएसँगै चिन्ता बढ्ने गरेको उहाँको भनाइ छ ।
गगनेखोलाको माथिल्लो भागमा बलौटे र कमजोर माटो रहेकाले निरन्तर पहिरो खस्ने समस्या रहेको छ । पहिरो पन्छाउन प्रयोग गरिने स्काभेटरका कारण भीर अझ कमजोर बन्दै गएको छ भने सडक माथिबाट ढुंगा खस्ने क्रम पनि जारी छ । सानो वर्षामै यातायात प्रभावित हुने र बर्खायाममा सडक पूर्ण रूपमा बन्द हुने अवस्था रहेको चौलागाईंले बताउनुभयो ।
स्थानीय चालक मदन योगीले हरेक वर्ष सडक अवरुद्ध हुँदा यात्रु तथा ढुवानीमा समस्या हुने गरेको बताउनुभयो । “कहिलेकाहीँ दुई हप्तासम्म सडक अवरुद्ध हुन्छ । गत वर्ष जुम्लाबाट स्याउ बोकेका ट्रक दुई हप्ता रोकिँदा स्याउ कुहिएर किसानलाई ठूलो नोक्सानी भयो,” उहाँले भन्नुभयो ।
कर्णाली राजमार्गअन्तर्गत पर्ने यो सडक कालीकोट, जुम्ला, मुगु, हुम्ला र बाजुरा जोड्ने मुख्य मार्ग हो । यहाँ अवरोध हुँदा सयौँ यात्रु र स्थानीय बासिन्दा प्रत्यक्ष प्रभावित हुने गरेका छन् । वर्षायाममा गगनेखोलामा पानीको सतह बढ्दा पहिरोको जोखिम झन् बढ्ने गर्दछ ।
स्थानीय विकास मल्लका अनुसार अस्थायी रूपमा ढुंगा पन्छाउनेबाहेक दीर्घकालीन समाधान—जस्तै भीर स्थिरीकरण, पर्खाल तथा जाली निर्माण वा वैकल्पिक मार्गको योजना—अहिलेसम्म अघि बढाइएको छैन ।
सरकार र सम्बन्धित निकायले हरेक वर्ष उस्तै समस्या दोहोरिँदा पनि चासो नदिएको भन्दै मल्लले दीर्घकालीन योजना बनाएर तत्काल कार्यान्वयन गर्न माग गर्नुभयो । “पहिलेका सरकारले केही गरेनन्, अबको सरकारले यस्तो समस्यामा ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो ।
सडक डिभिजन कार्यालय जुम्लाका निमित्त डिभिजन प्रमुख श्रवणकुमार महताराले काठमाडौँबाट इन्जिनियरको टोली ल्याएर निरीक्षण गराउने तयारी भइरहेको बताउनुभयो । “यो वर्ष पनि उस्तै समस्या झेल्नुपर्ने देखिन्छ । तत्कालका लागि स्काभेटर तयारी अवस्थामा राख्नेबाहेक ठोस योजना छैन,” उहाँले भन्नुभयो ।