• १३ असोज २०८१, आइतबार

नाडा अटो स्थगित

blog

काठमाडौँ, साउन १० गते । सरकारले सवारीसाधन आयातमा लगाएको प्रतिबन्ध नहटाएपछि सवारी साधनको कुम्भ मेला ‘नाडा अटो सो–२०२२’ स्थगित भएको छ । 

सरकारले साउन १ गतेदेखि सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाउने आश्वासनअनुसार अटो प्रदर्शनीको तयारी थाले पनि प्रतिबन्ध लम्बिएपछि अटो प्रदर्शन स्थगित गरिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष धु्रव थापाले बताउनुभयो ।

नाडा कार्यसमितिको आइतबार बसेको बैठकले भदौमा आयोजना गर्नेगरी तयारी गरेको यस वर्षको ‘नाडा अटो सो–२०२२’ केही समयका लागि स्थगित गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

पूर्वनिर्धारित कार्यक्रमअनुुसार नाडाले आगामी भदौ ७ देखि १२ गतेसम्म काठमाडौँमा अटो प्रदर्शनीको आयोजना गर्ने तयारी गरेको थियो । सरकारले साउन १ गतेदेखि सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाउने आश्वासनअनुसार अटो प्रदर्शनको तयारी थालेको नाडाले प्रतिबन्ध लम्बिएसँगै अटो सो स्थगन गरेको हो ।

देशमा विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन १ गते राजपत्रमा सूचना प्रकाशन नै गरी १५० सीसी क्षमतामाथिका मोटरसाइकल तथा स्कुटर र चारपाङ्ग्रे सवारी साधन आयातको प्रतिबन्ध भदौ १४ गतेसम्म लम्ब्याएको छ ।

सरकारले भदौ १४ गतेबाट सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाए पनि दशैँ अगाडि अटो प्रदर्शन गर्न नसक्ने नाडाको भनाइ छ ।  अटो प्रदर्शन आयोजना गरेर मात्र नहुने भन्दै अध्यक्ष थापाले अटो प्रदर्शनमा देखाउन गाडी ल्याउन सक्ने अवस्था नै नभएपछि अनिश्चित कालका लागि अटो प्रदर्शन स्थगित गर्ने निर्णय गरेको बताउनुभयो ।

सवारीसाधन आयातमा सहज हुँदा भारतबाट गाडी ल्याउन मात्र डेढ महिना लाग्छ भने अन्य देशबाट नेपालमा गाडी आयात गर्न तीन महिनाभन्दा बढी समय लाग्ने नाडाले जनाएको छ ।