• १ वैशाख २०८३, मङ्गलबार

सिमकोट–हिल्सा सडकको लाग्ना खण्ड पुनः सञ्चालनमा

blog

लाग्नामा रोकिएका यातायात गन्तव्यतर्फ जाँदै। तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, वैशाख १ गते ।
सिमकोट–हिल्सा सडकअन्तर्गत लाग्ना खण्डमा सिमकोट गाउँपालिका–७ डाँडाफयाँका स्थानीयले अवरुद्ध गरेको सडक सञ्चालनमा आएको छ। स्थानीय बासिन्दा र निर्माण व्यवसायीबिच सहमति भएपछि अवरुद्ध सडक पुनः सुचारु भएको हो।

सडक अवरुद्ध भएको चार दिनपछि सहमति भएसँगै यातायात सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक शङ्क खड्काले जानकारी दिनुभयो। सडक सोमबार बेलुकादेखि सञ्चालनमा आएको हो।

उक्त क्षेत्रको सडक निर्माणका क्रममा चट्टान विस्फोट गर्दा खसेका ढुंगाले सामुदायिक वनमा क्षति पुगेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका थिए। सिमकोट–हिल्सा सडकअन्तर्गत सिमकोटदेखि हेक्पा खोलासम्मको निर्माण कार्यका क्रममा लाग्नामा चट्टानी भीरमा विस्फोट गर्दा खसेका ढुंगाले सडक तलको सामुदायिक वनका सल्लाका रुखहरू भाँचिएको भन्दै स्थानीयले सडक अवरुद्ध पारेका थिए।

निर्माण कम्पनी गौरी गणेश तिर्थ एण्ड राज्य रिजन जेभीका प्रतिनिधि इन्द्र लामाका अनुसार चट्टान भत्किँदा भएको क्षतिको सट्टा गोरेटो बाटो निर्माण गर्ने सहमति भएपछि सडक खुलाइएको हो। सडक सञ्चालनसँगै दुईतर्फी यातायात सुचारु भएको छ।