• १३ असोज २०८१, आइतबार

७१ वर्षमा नागरिकता

blog

जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता लिँदै कमला कुमाल। तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, साउन ८ गते। गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ५ का कमला कुमालले ७१ वर्षको उमेरमा आइतबार नागरिकता लिनुभएको छ ।  

गाउँका सडकमा मागेर खाने अवस्थामा रहेकी कुमाललाई वडा अध्यक्ष केशवराज भण्डारीको पहलमा आइतबार जिल्ला प्रशासनबाट नागरिकता प्रदान गरिएको हो।

कुमालका श्रीमान र छोराछोरी रहे पनि परिवारले उचित व्यवस्थापन गर्न नसकेको वडा अध्यक्ष भण्डारीले बताउनुभयो। वडा नम्बर ५ वस्तु रातचौरमा बस्दै आएकी कमलाका तीन छोरा, दुई छोरी र श्रीमान हुनुहुन्छ। 

घरपरिवारले उचित व्यवस्थापन नगर्दा र नागरिकता नहुँदा उहाँ राज्यबाट पाउने सेवा सुविधाबाट पनि बञ्चित हुनुहुन्थ्यो। नागरिकता प्राप्त गरेपछि अब उहाँले राज्यबाट पाउने सबै सेवा सुविधाका लागि आफूले पहल गर्ने वडा अध्यक्ष भण्डारीले बताउनुभयो।

कमलाका श्रीमान फत्तबहादुर कुमालको सिफारिसमा नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीकी प्रशासकीय अधिकृत ज्ञानकुमारी भुसालले जानकारी दिनुभयो।