• १३ साउन २०८१, आइतबार

गाउँभरि तरकारी खेती ‘सिजन’मा नौ करोड आम्दानी

blog

ललित बसेल

सुर्खेत, साउन ७ गते  । पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–४, ठूलो हर्रे गाउँभरि तरकारी खेती गरिएको छ । सातवटा समूह मिलेर एउटा तरकारी ब्लक निर्माण गरिएको छ । ब्लकमा १८२ घरधुरी आबद्ध छन् । ती सबैले व्यावसायिक तरकारी खेती गरेका छन् । 

ठूलो हर्रेका दलबहादुर खड्काले आफ्नो चार रोपनी जग्गामा तरकारी खेती गर्नुभएको छ । गोलभेँडा, काँक्रा, बोडी, सिमीलगायतका तरकारीबाट उहाँले एक याममा चारदेखि पाँच लाख रुपियाँ आम्दानी गर्नुहुन्छ । अझ अन्य किसानले तरकारीका साथै फलफूल पनि उत्पादन गरी वार्षिक सात लाख रुपियाँसम्म आम्दानी गर्ने उहाँ बताउनुहुन्छ । १८२ घरले वार्षिक औसतमा पाँच लाख रुपियाँ आम्दानी गर्दा सो तरकारी ब्लकबाट नौ करोड रुपियाँभन्दा बढी आम्दानी हुने गरेको छ । सोही स्थानका अर्का कृषक हेमन्तप्रकाश वलीले पनि भीर खनेर तरकारी खेती गरिएको बताउनुभयो । प्रदेश कृषि निर्देशनालयले प्राविधिक तथा केही अनुदान सहयोग गरेपछि कृषक तरकारी खेतीतर्फ आकर्षित भएको उहाँले जानकारी दिनुभयो । 

निर्देशनालयले करिब सात लाख रुपियाँ अनुदान दिएको थियो । सो रकमबाट सातवटा पावर ट्रिलर, सातवटा विषादी स्प्रे ट्याङ्की, ५० थान क्यारेट खरिद गरेर कृषकलाई दिइएको वलीले बताउनुभयो । तरकारी ब्लक सञ्चालन समन्वय समितिका संयोजकसमेत रहनुभएका वलीले ब्लकमा आबद्ध सबै १८२ घरधुरीले तरकारी खेती गर्ने गरेको जानकारी दिनुभयो । 

यस्तै अनिता वलीले प्रतिघरले कम्तीमा १५ क्विन्टल तरकारी उत्पादन गरी बेच्ने गरेको बताउनुभयो । उहाँले २०७७ सालदेखि तरकारी ब्लक निर्माण गरी तरकारी खेती गर्ने गरेको भन्दै यस वर्ष उक्त ब्लकबाट २३० मेट्रिक टन तरकारी बिक्री गरिएको जानकारी दिनुभयो । तरकारी कृषकलाई बिक्रीका लागि कुनै समस्या छैन । सुर्खेत–कोहलपुर सडक नजिकै भएकाले उत्पादन भएको सबै तरकारी बारीबाटै बिक्री हुने गरेको उहाँले बताउनुभयो । 

कृषि विकास निर्देशनालयका अधिकृत दशरथ पाण्डेले तरकारी ब्लकलाई निर्देशनालयले छ लाख रुपियाँ सहयोग गरेको र एक जना प्राविधिक सहयोग उपलब्ध गराएको बताउनुभयो । तरकारी खेतीमा कृषक आकर्षित भएकाले ठूलो हर्रे ब्लकभरि तरकारी खेती गर्न प्रोत्साहन गरिएको उहाँको भनाइ छ । कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले ठूलो हर्रे क्षेत्र सबै तरकारीको ब्लक क्षेत्र बनाउने अभियान चलाइएको बताउनुभयो । आगामी वर्ष यहाँका कृषकलाई तरकारी खेतीमा आकर्षित गर्नका लागि अनुदानको योजना बनाए पनि सरकारले त्यो अनुदान काटेको टिप्पणी गर्नुभयो । हर्रे क्षेत्र सुर्खेतको बढी तरकारी उत्पादन हुने क्षेत्रमा पर्दछ । यहाँ उत्पादन भएका तरकारी स्थानीय बजारका साथै वीरेन्द्रनगर, नेपालगञ्ज र बर्दियासमेत जाने गर्दछ । गाउँभरि तरकारी खेती लगाइए पनि कृषकलाई आवश्यक पर्ने प्राविधिक ज्ञानको अभाव भएको कृषकको गुनासो छ ।