• ९ चैत २०८२, सोमबार

इँटा उद्योगमा करिब सात करोड रुपियाँको क्षति

blog

वर्षाले क्षति भएको इँटा । तस्बिर : अविनाश चौधरी

धनगढी समाचारदाता

धनगढी, चैत ९ गते । वर्षाले कैलालीका इँटा उद्योगमा करिब सात करोड रुपियाँको क्षति भएको छ । शुक्रबार भएको वर्षाले काँचो इँटा पूर्ण रूपमा नष्ट भई इँटा उद्योगमा ठुलो क्षति भएको हो । सेती महाकाली इँटा उद्योग व्यवसायी सङ्घ जिल्ला समितिका अनुसार यहाँ रहेका प्रत्येक इँटा उद्योगमा पाँच लाखदेखि सात लाखसम्म काँचो इँटा नष्ट भएको छ । जिल्लाभर ५२ वटा इँटा उद्योग छन् । 

काँचो इँटा निर्माणमा लागेको लागत पूर्ण रूपमा स्वाहा भएको सङ्घका अध्यक्ष विनोदकुमार साहले बताउनुभयो । उहाँले एक उद्योगमा १२ लाखदेखि १३ लाख रुपियाँसम्मको क्षति भएको उल्लेख गर्नुभयो । “भट्टीमा हाल्न नपाएका सबै काँचो इँटा नोक्सान भएपछि व्यवसायीले ठुलो नोक्सान बेहोरेका छौँ,” अध्यक्ष साहले भन्नुभयो, “माटो त काम लाग्न सक्छ तर मजदुरमा लागेको खर्च नोक्सान भयो ।” इँटा बनाउन प्रतिइँटा तीन रुपियाँ मजदुर खर्च लाग्ने गरेको जनाइएको छ । इँटाको मूल्य नपाइरहेको अवस्थामा वर्षाले गरेको क्षतिका कारण व्यवसाय नै धराशायी हुने अवस्था रहेको व्यवसायीको दुःखेसो छ । विगतमा प्रतिइँटा १४/१५ रुपियाँको दरले इँटा बिक्री गरेका व्यवसायीले यस वर्ष घटेर प्रति इँटा १२ रुपियाँमा बिक्री  गरिरहेका छन् । वर्षाले काँचो इँटामा क्षति भएकाले अब भाउ बढाएर बिक्री गर्नुपर्ने समितिले जानकारी दिएको छ । 

इँटा व्यवसायमा सबै काम खुला अकाशमुनि हुने गरेका कारण थोरै पानी पर्दा पनि ठुलो नोक्सान हुने गरेको समितिका सदस्य मदनराज पनेरूले बताउनुभयो । उहाँले भट्टामा हाल्न नसकिएको सबै काँचा इँटा पानीले नष्ट भएको उल्लेख गर्नुभयो ।