विजयकुमार साह
ढल्केबर, चैत ८ गते । वाम आन्दोलन र सशस्त्र सङ्घर्षको लामो यात्राबाट राष्ट्रिय राजनीतिमा फरक पहिचान बनाएका नेपाली कम्युनिस्ट पार्टीका मातृकाप्रसाद यादव यस पटक पुनः प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार रामपल्टन साहभन्दा ९४५ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो । यस पटकको निर्वाचनमा यादवले १० हजार ४३० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार साहले नौ हजार ४८५ मत प्राप्त गर्नुभएको थियो । यस पटक विजयी भएसँगै उहाँ अन्तरिम व्यवस्थापिकासहित चार पटक सांसद बन्नुभएको छ भने पटक पटक मन्त्री बन्नुभएको छ । २०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित भएर संसदीय यात्रा सुरु गरेका यादव २०७४ सालमा पहिलो पटक प्रत्यक्षतर्फ धनुषाको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएको थियो । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा भने जनता समाजवादी पार्टीका दीपक कार्कीसँग पराजित भई निकटतम प्रतिस्पर्धी बन्नुभएको थियो । निर्वाचन आयोगले दुई दिन ढिला गरी उहाँलाई प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिसकेको छ ।
यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि प्रतिस्पर्धा केही हदसम्म फरक ढङ्गले अघि बढेको थियो । त्यस परिस्थितिले पनि चुनावी समीकरणमा प्रभाव पारेको देखिन्छ । २०१५ साल कात्तिक १ गते धनुषाको सबैलामा मध्यम वर्गीय परिवारमा जन्मिएका यादव ग्रामीण परिवेशमा हुर्किनुभएको हो । उहाँले शिक्षाशास्त्रमा प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गर्नुभएको छ । युवा अवस्थादेखि नै वाम राजनीतिमा लागेका उहाँ दुई दशकभन्दा बढी समय भूमिगत राजनीतिका गतिविधिमा सव्रिmय हुनुभयो । त्यस व्रmममा पटक पटक बन्दी जीवनसमेत बिताउनुभएको छ ।
राजनीतिक जीवनमा विभिन्न उतारचढावको सामना गरेका यादवले विगतका उपलब्धिको रक्षा, सङ्घीयता सुदृढीकरण र स्थानीय पूर्वाधार विकासलाई आफ्नो प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले आफू नीति निर्माणमा अनुभवी रहेको दाबी गर्दै केन्द्र र प्रदेशबिच समन्वयकारी भूमिका निर्बाह गर्ने बताउनुभयो ।
उहाँका अनुसार राजनीति केवल उमेरको आधारमा होइन, दृष्टिकोण, अनुभव र प्रतिबद्धताले निर्धारण हुने क्षेत्र हो । प्रत्येक राजनीतिक परिवर्तनमा युवाको भूमिका अग्रपङ्क्तिमा रहने भए पनि दीर्घकालीन नीति निर्माणमा अनुभव र परिपक्वता पनि उत्तिकै आवश्यक रहेको उहाँको धारणा छ । जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन जस्ता ऐतिहासिक आन्दोलनमा युवाको योगदान निर्णायक रहेको उहाँको भनाइ छ ।
यादवले सङ्घीयताको पूर्ण कार्यान्वयन, सुशासन र आर्थिक समृद्धिलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताउनुभएको छ । उहाँका अनुसार सङ्घीयता अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेकाले यसलाई प्रभावकारी बनाउँदै जनतालाई प्रत्यक्ष लाभ पु¥याउनु आवश्यक छ । रुग्ण उद्योग पुनः सञ्चालनमा ल्याई आन्तरिक रोजगारी सिर्जना गर्न सकिने उहाँको भनाइ छ ।
वैदेशिक रोजगारीका लागि नेपाली युवा खाडी मुलुकतर्फ जान बाध्य हुनु दुःखद अवस्था भएको उहाँको बुझाइ छ । यसले परिवार विखण्डन, सामाजिक समस्या र विभिन्न विकृति निम्त्याइरहेको भन्दै यादवले देशभित्रै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको सार्वभौमसत्ता विदेशी प्रभावबाट सुरक्षित राख्नुपर्ने भन्दै उहाँले मधेशको आवाजलाई संसद्मा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मधेशको समृद्धिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जब मधेश समृद्ध हुन्छ, तब मात्र नेपाल समृद्ध हुन्छ । नेपालको समृद्धि उपेक्षित क्षेत्र र समुदायलाई समेटेर मात्र सम्भव हुन्छ ।” शिक्षा, स्वास्थ्य, पूर्वाधार र उपेक्षित समुदायका विषयमा निरन्तर आवाज उठाउँदै आएको उहाँले बताउनुभयो ।