• ३ असार २०८१, सोमबार

तीन दिनसम्म सुत्केरी हुनसकेपछि निःशुल्क हवाइ उद्धार

blog

भुलुबाट गर्भवती कृष्णालाई हवाइ उद्धारको क्रममा रहेको हेलिकप्टर ।

शिवराज ढुंगाना 

अछाम, साउन ६ गते । सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा पाउन नसकेकी तुर्माखाँद गाउँपालिका–२ भुलुकी एक महिलाको निःशुल्क हवाइ उद्धार गरिएको छ । अछामकै विकट मानिएको भुलु निवासी २० वर्षीया कृष्णा विकको शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट हवाइ उद्धार गरेर सुर्खेत प्रादेशिक अस्पताल पुुराएको छ । 

“उहाँलाई (कृष्णा) अस्तिदेखि सुत्केरी बिराम लागेको रहेछ, स्वास्थ्य केन्द्रमा शुक्रबार बिहान आउनुभयो ।” भुलु स्वास्थ्य केन्द्रमा अहेब राजेन्द्र विष्टले भन्नुभयो । “हामीले दिउँसोसम्म प्रयास गर्दा पनि बच्चा नजन्मिएको तर रगत गइरहेको भएर पठाएका हौं ” अहेब विष्टले थप्नुभयो । राष्ट्रपति हवाइ उद्धार कार्यक्रम अन्तर्गत कृष्णालाई सुत्केरी सेवा लिनका लागि निःशुल्क हवाइ उद्धार गरिएको हो । पेटभित्रको बच्चासँगै रहेको पानी फोका फुटिसकेको अवस्था रहेको स्वास्थ्यकर्मीको भनाइ छ । 

सुत्केरी हुन नसकेको खबर पाए लगत्तै समन्वय गरेर निःशुल्क हवाइ उद्धार गरेर ज्यान खतरामुक्त गराएको तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बीसीले जानकारी दिनुभयो । कृष्णाले प्रादेशिक अस्पताल सुर्खेतमा प्रविधिको प्रयोग गरेर बच्चालाई जन्म दिनु भएको छ ।