• ४ असार २०८१, मङ्गलबार

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्छ : डा. भट्टराई

blog

फाइल तस्बिर

काठमाडौं, साउन ६ गते । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा आफू रहेको बताउनु भएको छ।उहाँले आमाको नामबाट निःशर्त नागरिकता दिनुपर्ने भनाइ राख्नुभयो।शुक्रबार प्रतिनिधिसभा बैठकबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै भट्टराईले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “अझै अपूर्ण छ।जन्मसिद्धका सन्तानले वंशीय नागरिकता पाउनेकुरा त आएको छ।त्यो मुलतः ठिक छ।मेरो निजी मान्यता त एनआरएनएलाई पूर्ण नागरिकता दिए हुन्छ भन्ने हो ।”

उहाँले राजनीतिक अधिकार बाहेकका अन्य अधिकारसहित नागरिकता दिइने कुरा पनि सकारात्मक भएको उल्लेख गर्नुभयो।आमाको नामबाट नागरिकता पाउनुपर्ने निःशर्त अधिकारलाई बावुको पहिचान भए, नभएको भन्ने शर्त राखिनु विभेदकारी र गलत रहेको उहाँले औल्याउनुभयो ।

“वैवाहिक अंगिकृतको कुरा पनि समानतामा आधारित छैन।कि त, नराख्ने हो भने छोरा र छोरी दुवै दम्पत्तिलाई नराखौं, राख्ने हो भने दुई वटै थोरै–थोरै भएपनि राखौं।यसरी विभेदकारी प्रावधान राख्नुहुँदैन”, लैङ्गिक पहिचानसहितको कुरामा भएको त्रुटी सच्याउनुपर्ने उहाँको भनाइ छ।

डा. भट्टराईले नागरिकता सम्बन्धी विधेयक अपूर्ण रहेको टिप्पणी पनि गर्नुभयो।