तुलसीपुर, साउन ६ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिपोका लागि ट्याङ्की र बाउजर ल्याइसकिएको छ भने अन्य संरचना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।
अहिले विमानस्थलमा ३० हजार लिटर अट्ने क्षमताको ट्याङ्की निर्माण गरिएको छ । इन्जिनीयर सुरज शाहका अनुसार ट्याङ्की ३० हजार लिटरको भए पनि अहिले २० हजार लिटरमात्रै ट्याङ्कीमा राखिएको छ । गएको वर्ष साउनदेखि उक्त इन्धन डिपो निर्माणको काम सुरु भएको हो ।
भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणको पुगेको भए पनि प्राविधिक जाँचको काम बाँकी रहेकाले प्राविधिक जाँच भएपछि मात्रै सञ्चालनमा आउने उहाँको भनाइ छ । न्यू ड्राइभन एमसी फाल्गुनान्दले करिब रु एक करोड ५० लाख लागतमा निर्माणको जिम्मा लिएको थियो ।
इन्धन डिपो नहुँदा काठमाडौँबाटै इन्धन बोकेर ल्याउनुपर्ने अवस्था थियो । यात्रु बस्ने सिटमा राखेर इन्धन ल्याउनुपर्ने अवस्था भएकाले पनि भाडा महँगो पर्न जाने गरेको थियो, अब भने केही सस्तो हुने अपेक्षा गरिएको छ । “एयरपोर्टमा १९ सिटे जहाज बस्छ, तर काठमाडौँबाट दाङ आउँदा १२ जनामात्रै यात्रु बोकेर आउनुपर्ने अवस्था छ, बाँकी सिटमा इन्धन ल्याउनुपर्छ”, उहाँले भन्नुभयो “अब भने यो समस्या अन्त्य हुनेछ, यसले हवाई भाडामा पनि कमी आउनेछ ।”
टरिगाउँ विमानस्थलमा अहिले सातामा पाँच दिन जहाज सञ्चालन हुने गरेको छ । शुक्रबार र शनिबारबाहेक अन्य दिन नियमित उडान हुने गरेको छ । विसं २०११ मा टरिगाउँ विमानस्थलमा पहिलोपटक विमान अवतरण भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि नेपालको दोस्रो पुरानो विमानस्थल विभिन्न समयमा बन्द हुँदै सञ्चालन हुने गरेको छ । विमानस्थलमा ७५० मिटर लम्बाइ र ३० मिटर चौडाइ छ । यसलाई बढाउनुपर्ने माग रहँदै आएको छ । पटक–पटक यस क्षेत्रका व्यवसायीले धावनमार्ग विस्तारका लागि डेलिगेशन जानेदेखि विभिन्न दबाबमूलक कार्य गर्दै आएका छन् ।  
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                