• ११ मंसिर २०८१, मङ्गलबार

मल आपूर्ति सम्बन्धमा छलफल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ६ गते  ।  कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच बिहीबार भेटघाट भएका छ । 

मन्त्रालयमा भएको भेटघाटमा भारतसँग जीटुजी (सरकारदेखि सरकार) सम्झौता भए पनि हालसम्म रासायनिक मल नेपाल नआएको विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले जानकारी दिनुभयो । 

सो अवसरमा रासायनिक मल नआएकोबारे राजदूत श्रीवास्तवले राख्नुभएको जिज्ञासामा मन्त्रालयका सचिव डा. गोविन्द शर्माले जानकारी दिनुभएको थियो । नेपालबाट पठाउनुपर्ने सम्पूर्ण कागजात पठाइसकेको भए पनि भारतबाट रासायनिक मल आउन ढिलाइ भएको उहाँले जानकारी दिनुभयो । यस सम्बन्धमा राजदूत श्रीवास्तवले चाँडै मल ल्याउन पहल गर्ने बताउनुभएको प्रवक्ता सञ्जेलले जानकारी दिनुभयो । 

नेपाल र भारतबीच गत फागुन १६ गते रासायनिक मल आपूर्ति सम्बन्धमा जीटुजी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार मल नआएपछि तत्कालीन कृषिमन्त्री महिन्द्रराय यादव भारत जानुभएको थियो । उक्त भ्रमणपछि असारको पहिलो हप्तासम्म मल आइपुग्ने बताइएको भए पनि हालसम्म त्यो मल आइपुगेको छैन । 

यसैबीच कृषि सामग्री कम्पनी लिमिटेडका प्रतिनिधि पनि मलकै विषयमा कुराकानी गर्न भारत गएर फर्केका छन् । अझै मल आउने सुरसार देखिएको छैन । 

नवनियुक्त मन्त्री मृगेन्द्रकुमार सिंह यादवले पनि भारतबाट मल ल्याउन पहल सुरु गर्नुभएको छ । धान सिजनका लागि मल नआए पनि गहुँ सिजनका लागि भारतबाट मल आउने विश्वास मन्त्रालयले लिएको छ । मल आपूर्तिका अतिरिक्त सो अवसरमा नश्ल सुधारका लागि भारतबाट मुर्रा जातको भैँसी ल्याउने, उखु तथा कफीको जर्मप्लाज्मा आयात गर्ने, पशुपन्छीजन्य महामारी र अन्य रोग नियन्त्रण गर्न दुवै देशको संयुक्त संयन्त्र निर्माण गर्नेलगायतका विषयमा छलफल भएको प्रवक्ता सञ्जेलले जानकारी दिनुभयो ।