गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ३ गते । बालबालिकाको क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउनका लागि भक्तपुर क्यान्सर अस्पताल र कान्ति बाल अस्पतालबिच सहकार्य हुने भएको छ । बालबालिकाको क्यान्सर उपचारलाई व्यवस्थित बनाउने उद्देश्यले दुई अस्पतालका कार्यकारी निर्देशकबिच सम्झौता भएको छ । सहकार्यले सरकारी स्वास्थ्य प्रणालीभित्रै क्यान्सरपीडित बालबालिकाका लागि एकीकृत उपचार सेवा सुनिश्चित गरिने छ ।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले सम्झौता अनुसार दुवै अस्पतालका विशेषज्ञ चिकित्सकले आपसी समन्वयमा बिरामीको उपचार योजना तयार गरिने जानकारी दिनुभयो । उहाँले एउटा अस्पतालमा उपलब्ध नभएको सेवा वा प्रविधि अर्को अस्पतालले उपलब्ध गराउने गरी सेवा आदानप्रदानसम्बन्धी सहमति भएको जानकारी दिनुभयो ।
सम्झौता अनुसार विशेष गरी कान्ति बाल अस्पतालमा हाल उपलब्ध नभएका जटिल र अत्याधुनिक सेवा अब भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा सहजै उपलब्ध हुने छ । भक्तपुर क्यान्सर अस्पतालले रेडियसन, आइएमआरटी, आइएचसी, फ्लोसाइटोमेट्री र फ्रोजन बायोप्सी वा हाइपेक आवश्यक पर्ने अन्को–सर्जरीलगायतका सेवा दिने छ । यसबाहेक चिकित्सकको सेवा आदानप्रदान र स्वास्थ्यकर्मीलाई विशेष तालिम दिने विषय पनि समझदारीमा समेटिएको छ ।
डा. चालिसेले अस्पतालले निकट भविष्यमा पेटस्क्यान र बोनम्यारो ट्रान्सप्लान्ट जस्ता उच्च विशिष्टीकृत सुविधासमेत दुवै अस्पतालको समन्वयमा उपलब्ध गराइने लक्ष्य राखेको बताउनुभयो । उहाँले सहकार्यले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क प्रदान गरिने जानकारी दिनुभयो ।
उहाँले विपन्न तथा पहुँचविहीन नागरिकका लागि यो ठुलो राहत हुने भन्दै बिरामीले स्वास्थ्य बिमा कार्यक्रममार्फत पनि यी सेवा लिन सक्ने बताउनुभयो । समझदारीपत्रमा कान्ति अस्पतालका निर्देशक डा पङ्कज राय र भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले हस्ताक्षर गर्नुभएको छ ।