• १० मंसिर २०८१, सोमबार

चीन–नेपाल सम्बन्ध

blog

जन–गणतन्त्र चीनका प्रधानमन्त्री चाउ एन लाइको निमन्त्रणमा प्रधानमन्त्री बीपी कोइराला चीन भ्रमणमा जानुभयो। उहाँसित गएको यो टोलीमा–प्रधानमन्त्री कोइरालाको धर्मपत्नी सुशीला कोइराला, सानी छोरी चेतना तथा मन्त्रीहरू–गणेशमान सिंह र सूर्यप्रसाद उपाध्याय हुनुहुन्थ्यो। केही उच्च पदस्थ कर्मचारीहरू, पत्रकारहरू र केही उद्योगपति, व्यापारी पनि यसमा सम्मिलित थिए। 

२०१६ को फागुन २४ देखि २६ गते सम्म बर्माको भ्रमण गरेर यो टोली फागुन २६ गते रङ्गुनबाट हङकङ पुग्यो। २०१६ को फागुन २८ (सन् १९६० को मार्च ११) मा यो टोली विशेष विमानद्वारा पेकिङ (बेजिङ) पुग्यो। बेजिङ विमानस्थलमा चीनका प्रधानमन्त्री चाउ एन लाइ र उपप्रधान तथा विदेशमन्त्री मार्शल चेन यी एवं अरू वरिष्ठ नेताहरूले नेपालका प्रधानमन्त्रीको हार्दिक स्वागत गरेका थिए। विमानस्थलमा ठूलो जन–समूह उपस्थित थियो। उनीहरूले नेपालको झन्डा र रङ्गीविरङ्गी रुमाल हल्लाएर तथा फूलका गुच्छाहरू अर्पण गरेर नेपालका प्रधानमन्त्रीकोे भव्य स्वागत गरेका थिए । नेपालबाट आएको यो टोलीको सम्मानमा बेजिङमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। दुई देशको आपसी हितका बारेमा उच्चस्तरीय र छलफल भएका थिए। केही पटक दुई देशका प्रधानमन्त्रीले एक्लाएक्लै समेत पनि वार्ता गरेका थिए। नेपालका प्रधानमन्त्रीको सम्मानमा चैत्र १ गते वा मार्च १३ का दिन बइेजिङका मेयर पेङ चेनले नागरिक अभिनन्दन समारोहको आयोजना गरेका थिए । 

प्रधानमन्त्री कोइराला र उहाँसित गएको यो टोली चैत ३ गते बेजिङबाट सङ्घाइ पुग्यो । सङ्घाइमा पनि भव्य स्वागत भएको थियो। सङ्घाइबाट यो टोली चैत ६ गते चीनको एक मनोरम नगर हाङचाउ आयो। चैत ६ कै साँझ नेपालका प्रधानमन्त्री र उहाँसित गएको भ्रमण टोलीका सबै सदस्यले चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्से तुङलाई भेटेका थिए। अध्यक्ष माओले प्रधानमन्त्री बीपी कोइरालासित नेपालको विकास र दुई देशको मित्रतालाई अरू प्रगाढ पार्न सौहार्दपूर्ण रूपमा विचारविमर्श गरेका थिए। 

चैत ७ गते यो टोली फेरि बेइजिङ आयो । चैत ८ वा मार्च २१ का दिन दुवै देशका प्रधानमन्त्रीहरूले–संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरे। चैत ८ कै दिन चीन र नेपालको आर्थिक सम्झौतासम्बन्धी प्रस्तावमा पनि दुवै देशका प्रधानमन्त्रीहरूले हस्ताक्षर गरेका थिए। यो सम्झौताअनुसार चीनले नेपाललाई भा.रु. १४ करोड बराबरको आर्थिक सहयोग दिने सहमति भएको थियो। त्यसै दिन, दुवै देशको सीमालाई वैज्ञानिक किसिमले निर्धारण गर्न, सीमा सम्झौतासम्बन्धी प्रस्तावमा पनि हस्ताक्षर भएको थियो। 

प्रधानमन्त्री बीपी कोइराला र भ्रमण दलका सबैलाई चीनका अरू वरिष्ठ नेताहरू–राष्ट्रपति लिउसाउ ची, चुतेह आदिले पनि भेटेका थिए। प्रधानमन्त्री कोइराला र उहाँसित चीन भ्रमणमा गएको यो टोली स्वदेश फर्कने क्रममा चैत ९ गते बेजिङबाट विशेष विमानद्वारा उहान आयो। बेइजिङ विमानस्थलमा प्रधानमन्त्री चाउ एन लाइले तथा अरू विशिष्ट व्यक्तिले नेपालका प्रधानमन्त्री र उहाँसित आएको यो टोलीको अत्यन्त आत्मीयताका साथ बिदाइ गरेका थिए। प्रधानमन्त्री कोइरालाले उहानबाट क्यान्टनसम्म रेलबाट जाने इच्छा व्यक्त गर्नुभएको थियो। त्यसैले चैत ९ गते एक सुविधाजनक रेलबाट यो टोली क्यान्टन पुग्यो। चैत १० गते यो टोली हङकङ पुग्यो। त्यहाँबाट भ्रमणको यो टोली चैत १३ गते कलकत्ता आयो र १४ गते काठमाडौँ फर्कियो। 

प्रधानमन्त्री कोइरालाको यो भ्रमणलाई चीनका नेताहरूले ठूलो महìव दिएका थिए। बीपी र उहाँसित आएको यो भ्रमण टोलीलाई चीनको सीमासम्म आएर बिदाइ गर्न–उपप्रधान एवं विदेशमन्त्री मार्शल चेन यी बेइजिङबाट विमानमा उहान र त्यहाँबाट रेलबाट क्यान्टनसम्म सँगै आएका थिए। चीनका सञ्चार माध्यमहरूले यो भ्रमणलाई सर्वाधिक महìव दिएका थिए। पेकिङ रेडियोले उच्च प्राथमिकताका साथ अनेक पटक समाचार, वार्ता तथा प्रम कोइरालाको जीवनी, नेपालको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक आदि विषयहरू प्रसार गरेको थियो। पिपुल्स डेली र अरू कतिपय पत्रिकाले समाचार, सम्पादकीय टिप्पणी लेखेर यो भ्रमणले दुई देशको सम्बन्धलाई ऐतिहासिक उचाइमा पु-याएको छ भनेका थिए। 

बीपी कोइराला चीनको ऐतिहासिक भ्रमणबाट फर्केको एक महिनापछि चीनका प्रधानमन्त्री चाउ एन लाइ २०१७ को वैशाख १४ वा सन् १९६० को अप्रिल २६ का दिन दिल्लीबाट काठमाडौँ आए। उनीसित उपप्रधान एवं विदेशमन्त्री मार्सल चेन यी र अरू उच्च पदस्थ समूह पनि आएको थियो। त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री बीपी कोइरालाका साथै सभामुख, अध्यक्ष, मन्त्रीहरू, सांसदहरू र अरूहरू समेतले चीनबाट आएको यो टोलीको हार्दिक स्वागत गरेका थिए। 

वैशाख १४ कै दिन प्रधानमन्त्री चाउ एन लाइको सम्मानमा नागरिक अभिन्दन समारोहको आयोजना गरिएको थियो। वैशाख १५ गते प्रधानमन्त्री कोइरालासंँगै प्रधानमन्त्री चाउ एन लाइ र उनीसित आएको भ्रमण टोलीका सबै सदस्य पोखरा गए। यो टोली वैशाख १६ गते काठमाडौँ फर्कियो। त्यसै दिन अपराह्न चीनका प्रधानमन्त्रीले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको  थियो। उहाँ संसद् भवनमा पुग्दा, सभामुख कृष्णप्रसाद भट्टराई र अध्यक्ष डम्बरबहादुर सिंहले स्वागत गरेका थिए। चाउ एन लाइ नेपालको संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने पहिलो व्यक्ति थिए। 

२०१७ को वैशाख १६ कै राति प्रधानमन्त्री चाउ एन लाइले सिंहदरबारको ग्यालरी बैठकमा पत्रकारहरूलाई भेटेका थिए। त्यसमा बीपी कोइरालाको पनि उपस्थिति थियो। पत्रकारहरूले सगरमाथा (माउन्ट एभरेस्ट) माथि चीनले गरेको दाबीका सम्बन्धमा जिज्ञासा प्रकट गर्दै, सोधेको प्रश्नमा प्रधानमन्त्री चाउ एन लाइले भनेका थिए ।

प्रधानमन्त्री बीपी कोइराला चीन भ्रमणमा रहँदा हामीले माउन्ट एभरेस्टका बारेमा नक्सा आदानप्रदान गरेका थियौँ। चीनले आफ्नो नक्सामा त्यो शिखरलाई आफ्नो सीमाभित्र–‘चोमोलोङमा’ को नामले र नेपालले आफ्नो नक्सामा त्यसलाई–‘सगरमाथा’ (माउन्ट एभरेस्ट) को नामले आफ्नो सीमाभित्र राखेको थियो। प्रधानमन्त्री कोइरालाले यो शिखर नेपालको हो भन्नुभयो। उहाँले चेयरम्यान माओसँग पनि यसबारेमा छलफल गर्नुभयो। हामीले नेपालले प्रस्तुत गरेको त्यही नक्सालाई मान्यता दियौँ र हामीले पेस गरेको नक्सालाई बदर ग-यौँ। 

सगरमाथा–नेपाल र चीनको बीचमा एक नयाँ र निकै जटिल विवादको रूपमा आउन लागेको थियो तर दुवै देशका प्रधानमन्त्री बीचको आपसी समझदारी, एकले अर्कालाई सहयोग गरेर, सबै विवाद मित्रवत तवरले समाधान गर्ने सद्भावपूर्ण प्रतिबद्धता यी सबैले सगरमाथासम्बन्धी विवाद सौहार्दपूर्ण रूपमा समाधान भयो।    

वैशाख १६ कै राति ११ः३० बजे ग्यालरी बैठकमा नेपाल र चीनका प्रधानमन्त्रीहरूले शान्ति र मैत्री सन्धिमा हस्ताक्षर गरेका थिए। त्यसमा ६ वटा दफा थिए। भोलिपल्ट वैशाख १७ गते बिहान गणतन्त्र चीनका प्रधानमन्त्री चाउ एन लाइ र उनीसित नेपाल भ्रमणमा आएको टोली स्वदेश फर्कियो। उनीहरूलाई प्रधानमन्त्री कोइराला, सभामुखलगायतले बिदाइ गरेका थिए।

यसरी नेपाल र चीनका प्रधानमन्त्रीहरूको भ्रमण आदानप्रदानले यी दुई देशको सहयोग, सद्भाव र मित्रतालाई धेरै अगाडि बढाएको थियो तर त्यसको केहीपछि मुस्ताङ घटनाले यी दुई देशको बीचमा नयाँ समस्या ल्यायो। मुस्ताङमा रहेको नेपाली सेनाको एउटा टोली र केही कर्मचारी २०१७ को असार १५ गते सीमा निरीक्षणमा गएका थिए। उनीहरूमाथि चीनको सेनाले गोली चलायो। नेपाली सेनाका सुवेदार बमप्रसाद बास्कोटा मारिए। चीनको सेनाले उनको शव लिएर गयो। अरूहरूलाई पनि पक्राउ ग-यो। यो दुःखद घटनाको सूचना प्राप्त हुनासाथ प्रधानमन्त्री बीपी कोइरालाले असार १६ (जुलाई २९) का दिन चीनका प्रधानमन्त्रीलाई विरोधपत्र पठाउनुभयो। त्यसबेला नेपालमा चीनको आवासीय दूतावास थिएन। त्यसैले दिल्लीस्थित नेपाली राजदूतलाई पत्र पठाएर, तुरुन्त चीनको राजदूतलाई भेटी, यो घटनाको कडा विरोध गर्न र यसबारेको सबै जानकारी पठाउन भनिएको थियो। 

नेपालका प्रधानमन्त्रीको पत्र प्राप्त हुने वित्तिकै, असार १७ गते चीनका प्रधानमन्त्रीले बीपीलाई पत्र पठाए। पत्रमा–यो दुःखदायी घटना हो र यसबारेमा स्थानीय पदाधिकारीलाई सोधखोज गर्ने कार्य भइरहेको छ भनिएको थियो। यो पत्र प्राप्त भएपछि प्रधानमन्त्री कोइरालाले चाउ एन लाइलाई फेरि अर्को पत्र पठाउनुभयो। त्यसपछि, चाउ एन लाइले पठाएको पत्रमा–यो निम्नस्तरीय कर्मचारीको लापरबाहीबाट हुन गएको घटना भनिएको थियो र नेपालसित क्षमायाचना गरिएको थियो। नेपालले माग गरेअनुसार पचास हजार क्षतिपूर्ति दिन मञ्जुर गरिएको थियो। असार २१ गते चीन सरकारले सुवेदार बमप्रसादको शव तथा पक्राउ गरिएका मानिस र घोडाहरू समेतलाई सीमावर्ती स्थानमा ल्याएर नेपालको टोलीलाई सम्मानपूर्वक हस्तान्तरण ग-यो। सुवेदारको शवमा चीनको सीमा सुरक्षा टोलीले सैनिक सलामी अर्पण गरेको थियो। चीनका प्रधानमन्त्रीले फेरि लेखेका थिए–म प्रस्ताव गर्छु, हाम्रो दुई सरकारले चाँडै एकले अर्काको राजधानीमा दूतावास स्थापना गर्नुपर्छ र दुवै दूतावासले आकाशवाणी सेटबाट रेडियो सम्पर्क सञ्चालन गर्नुपर्छ।

नेपाल र चीनको मित्रतामा यसरी आएका अवरोधहरूको निराकरण गर्दै नयाँ अध्यायहरू थपिँदै गए। प्रधानमन्त्री कोइरालाले २०१७ को असोज १४ गते संयुक्त राष्ट्रसङ्घको पन्ध्रौँ साधारण सभालाई सम्बोधन गर्दा भन्नुभएको थियो–गणतन्त्र चीनलाई प्रवेश नगराएसम्म राष्ट्रसङ्घलाई तत्परताका साथ काम गर्न कठिनाइ भइरहनेछ। राष्ट्रसङ्घको बडापत्र जनताको आवाज हो। ६३ करोड चिनियाँ जनताको प्रतिनिधित्व नभएसम्म यसले पूर्णतः जनताको प्रतिनिधित्व गरेको ठहर्दैन।

हालै नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउले बीपीलाई सैन्य शक्तिको आडमा अपदस्थ गरी पहिलो पटक आठ वर्ष र पछि फेरि दुई वर्ष बन्दी बनाएर राखेको सुन्दरीजलको निरीक्षण गर्नुभयो। यो चीनको बीपीप्रतिको चासो, स्नेह, सद्भाव र सम्मान थियो।