• १५ असार २०८१, शनिबार

लोकतन्त्रवादी प्रेसकर्मीका ‘एजेन्डा’

blog

कुनै भवितव्य आइपरेन भने लोकतन्त्रवादी पत्रकारहरूको साझा सङ्गठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन आजदेखि बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु हुनेछ। लोकतान्त्रिक मूल्य मान्यताका पक्षपाती सञ्चारकर्मीका लागि निश्चय पनि आजको दिन निकै  महत्त्वपूर्ण हुनेछ। युनियनको नवौँ महाधिवेशनका गतिविधिप्रति अनेक कारणले युनियनकर्मी मात्र होइन आम व्यक्तिको समेत चासो छ। अहिलेका लागि  महत्त्वपूर्ण कुरा के हो भने एउटा लोकतान्त्रिक संस्थाको महाधिवेशन, पूर्णतः लोकतान्त्रिक विधि प्रक्रियाको अनुशरण गरी हुने सुनिश्चित भएको छ। 

आजको दिन  महत्त्वपूर्ण ठहरिने अर्को कारण पनि छ। यस देशमा लोकतन्त्रको सूत्रपात गर्ने राजनीतिक दल नेपाली कांग्रेसका संस्थापक र यस पार्टीका सिद्धान्तकार बीपी कोइरालाको स्मृति दिवस पनि आजै हो । यस आलेख बीपीको लोकतन्त्रप्रतिको योगदानको स्मरण गर्दै प्रेस युनियनको महाधिवेशनमा केन्द्रित हुनेछ। 

स्मरणीय छ, प्रेस युनियनलाई नेपाली कांग्रेसको शुभेच्छुक संस्था पनि मानिन्छ। कुनै बिमति छैन, बीपी, नेपाली कांग्रेस, लोकतन्त्र, जनताको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र नेपाल प्रेस युनियनको सम्बन्ध अन्योन्याश्रित छ। प्रेस युनियन त्यही संस्था हो, जसको स्थापना प्रेसका माध्यमबाट देशमा लोकतान्त्रिक संस्कार र आचरणको प्रवद्र्धन गरी लोकतन्त्रलाई संस्थागत गर्ने उद्देश्यबाट भएको थियो। आज यस संस्थाको नवौँ महाधिवेशन प्रारम्भ हुँदै गर्दा यसका संस्थापकहरूप्रति आदर व्यक्त गरिनु उचित हुन्छ। 

महाधिवेशनलाई मतदान र नेतृत्व परिवर्तनमा माात्र सीमित गरिनु अनुचित हुन्छ। कुनै पनि लोकतान्त्रिक संस्थाको महाधिवेशनको मूल  महत्त्व त त्यस संस्थाका गतिविधिको मूल्याङ्कन र भावी दिनका लागि आवश्यक नीति तय गर्नुमा निहित हुन्छ। निश्चय पनि प्रेस युनियन पनि अपवाद हुन सक्दैन। युनियनको महाधिवेशनमा सहभागी हुने करिब एक हजार सात सय प्रतिनिधिको यस कुराप्रति ध्यानाकर्षण हुनु जरुरी छ। युनियनको यस महाधिवेशनले भविष्यका लागि केही खास ‘एजेन्डा सेटिङ’ गरेर आफ्नो आयोजनको औचित्य पुष्टि गर्नु अपरिहार्य छ।

लोकतन्त्रको संरक्षण र संस्थागत विकास, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता, सूचनाको हकको प्रत्याभूति, श्रमजीवीको अधिकारको रक्षा आदि केही यस्तै एजेन्डा हुन् भन्ने कुरामा दुईमत हुन सक्दैन । यसका साथै मिडियाको परिवर्तित स्वरूपका सन्दर्भमा सञ्चारकर्मीको भूमिका, ‘डिजिटल प्लेटफर्म’को उचित प्रयोग, सूचनाको विश्वसनीयता र प्रभावकारितालगायतका विषयमा पनि महाधिवेशनका सहभागीले गम्भीर हुनु अपरिहार्य छ। यसैगरी आजको प्रेस कर्म, जो प्रविधिको विकासबाट प्रभावित हुन पुगेको छ, यसका बारेमा समेत युनियनकर्मीले सोच्नु जरुरी छ। जस्तोसुकै प्रविधि आए पनि आखिर पत्रकारिताको आधारभूत गुण एउटै हो। जुन मिडियालाई प्रयोग गरे पनि सिर्जनशील प्रस्तुतिले तानिहाल्छ। महŒवपूर्ण पक्ष माध्यम होइन, त्यसमा हामीले कस्तो सामग्रीलाई प्रस्तुत गर्छौं, त्यो हो। 

स्वतन्त्र पत्रकारिता लोकतन्त्रको पहिलो आवश्यकता र सर्त दुवै हो। यसको सम्बन्ध जनताको सूचनाको हकको प्रत्याभूतिसँग छ। स्वतन्त्र पत्रकारिताको अभावमा जनताले निर्वाध रूपले सुसूचित हुने अवसर पाउँदैनन् र सूचनाको हकको अनुपस्थितिमा लोकतन्त्र छ भनेर कहीँ दाबी गरिन्छ भने त्यो असम्भव हुनेछ। यस परिदृश्यमा लोकतन्त्रको यो महŒवपूर्ण औजारलाई जोगाइरहने अभिभारा सञ्चारकर्मीहरूको काँधमा जान्छ। यस्तोमा पत्रकार बलियो नभई पत्रकारिता र लोकतन्त्र बलियो हुन नसक्ने यथार्थ हामी सबैले बुझ्नु जरुरी छ र पत्रकारलाई बलियो बनाउन व्यावसायिक बनाउनु आवश्यक छ। व्यावसायिक पत्रकारले मात्र जनअपेक्षित रूपमा सञ्चार सामग्री पस्कन सक्छ। अपेक्षा गरौँ, यस तथ्यप्रति निश्चय पनि युनियनकर्मीले विचार पु-याउने नै छन्। 

यसरी प्रेस युनियनको जन्म नै लोकतन्त्रको संरक्षण र संस्थागत विकासका सन्दर्भमा भएको हो। यसो हो भने आजको दिनमा लोकतन्त्रको फल सर्वसाधारणसम्म पु=याउने सन्दर्भमा भूमिका निर्वाह गर्नु पनि युनियनकर्मीको दायित्व हो र हुनु पनि पर्छ।  

‘मिडियाले वाचडग (खबरदारी गर्ने)को भूमिका निर्वाह गर्नुपर्दछ,’ मिडियाप्रतिको यो सामान्य जनअपेक्षा हो। मिडियाको यो प्राथमिक दायित्व पनि हो। विश्व परिवेशमा पछिल्लो दिनमा मिडियाले यो भूमिका निर्वाह गरिरहेको छ। पत्रकारिताको प्रमुख कार्य हो – आमजनतालाई सुसूचित गर्नु र जनतालाई जागरुक बनाउनु। पछिल्लो समय पत्रकारिताबाट सामाजिक उत्तरदायित्वको अपेक्षा गरिन्छ। समाजको विकास र सुशासनसँग सम्बन्धित विषयमा मिडियाले उचित ‘कभरेज’ गरेर आफ्नो दायित्व वहन गर्ने गर्दछ। यसै आधारमा पत्रकारिता समाजको वास्तविक नेता हो भनेर पनि कतिपय विद्वान्ले भनेका छन्। युनियनकर्मीले यस कथ्यलाई आत्मसात् गर्दै आफ्नो भूमिका निर्दिष्ट गर्नु वाञ्छनीय छ। 

नेपालमा पनि नागरिकलाई सुसूचित गर्ने कुरामा मिडियाले आफ्नो दायित्व निर्वाह गरेको छ। पछिल्लो दिनको मिडिया कभरेजको मूल्याङ्कन गर्ने हो भने केही अपवादबाहेक नेपाली मिडिया पनि जिम्मेवार देखिने प्रयत्नमा छ, यो सत्य हो तर यति हुँदाहुँदै पनि हामीकहाँ केही समस्या अझै छन्, यसको समाधानका लागि युनियन क्रियाशील हुनु अपेक्षित छ। देशमा सङ्घीय शासन व्यवस्थाको स्थापना भएपछिका दिनमा मिडियाको मूल भूमिकामा त परिवर्तन आएको मान्न सकिँदैन तर प्रभाव र प्रक्रियाका दृष्टिले केही परिवर्तन आएको र दायित्व थपिएको कुरा मिडियाले स्वीकार गर्नु आवश्यक छ। युनियनको नवौँ महाधिवेशनमा सञ्चार माध्यम र पत्रकारहरूले भोगेको समस्यामा अवश्य पनि छलफल हुने नै छ। 

मिडियाको काम उचित बाटो निर्देश गर्ने हो तर क्षणिक लाभ र स्वार्थपूर्तिको बाटोमा अग्रसर मिडियाले यो दायित्व निर्वाह गर्न सक्दैनन्। स्थानीय सरकारका सन्दर्भमा कतिपय स्थानीय मिडियाले निर्वाह गर्न खोजेको वा गरिरहेको भूमिका सन्तोषजनक छैन। पत्रकारहरू स्थानीय तहमा औपचारिक अनौपचारिक रूपमा कर्मचारी बन्ने, पालिका प्रमुखको स्वकीय सचिव बन्ने, नातेदार र आफन्त जनप्रतिनिधिलाई सघाउने, राजनीतिक रूपमा परिचालित हुने जस्ता कार्यमा संलग्न रहेको पाइएको छ । यसो हो भने स्वाभाविक रूपले प्रश्न उठ्छ, यस्ता कार्यमा संलग्न पत्रकारले आफ्नो दायित्वसँग कसरी निर्वाह गर्न सक्छन् ? कसरी स्थानीय तहका समाचार समान रूपले जनताको पहुँचमा पुग्न सक्छन् ? पत्रकारका यस्ता गतिविधि कसरी स्वतन्त्र प्रेसको अनुकूल हुन सक्छ ? उत्तर एउटै छ, सहज छैन। निश्चय पनि यी सन्दर्भ हेटौँडामा उपस्थित देशभरिका लोकतन्त्रवादी पत्रकारहरूको चासोको विषय बन्न सक्नुपर्दछ। 

महामानव बीपीको स्मृति दिवसका अवसरमा हामीले माथिका चुनौतीको सामना गर्ने प्रतिबद्धता व्यक्त गर्न सक्नुपर्छ। यही नै बीपीप्रति पत्रकारिताका सन्दर्भमा साँचो श्रद्धासुमन  अर्पण गरेको ठहरिनेछ ।