• १५ असार २०८१, शनिबार

नमुुना विद्यालयको जाली काम

blog

बिर्तामोड समाचारदाता 

बिर्तामोड, साउन ६ गते । कनकाई नगरपालिका–४ मा अवस्थित सिंहदेवी आधारभूत विद्यालयले पुरानो टिनको कच्ची भवनमाथि तला थपेर १८ लाख रुपियाँ निकासा गरेको पाइएको छ। 

 राष्ट्र«पति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयले दुई कोठे विद्यालय भवन निर्माणका लागि १८ लाख रुपियाँ पाएको थियो। उक्त रकमलाई विद्यालयले आफ्नो पुरानो टिनको भवनमाथि टिन उक्काएर सोही भवनमा अर्को तला थपेर रकम निकासा गरेको हो। पहिले तला नथप्ने गरी बनाएको पुरानो टिनको छानो भएको भवनमा रडसमेत छैन भने बनाइएको उक्त भवन भूकम्प प्रतिरोधकसमेत नभएको स्थानीय विक्रम पाण्डेले बताउनुभयो। 

विद्यालयलाई दिइएको उक्त रकम जगसमेत खनेर रड लगाएर बलियो बनाउनका लागि दिइएको भए पनि टिनको छानो भत्काएर हल्का रूपमा भवन बनाएको र उक्त भवन जति पनि बेला ढल्न भत्किन सक्ने भन्दै स्थानीयले विरोध जनाएका छन्। २०७८ साल चैत १० गते गरिएको सम्झौतामा यही २०७९ असार १५ गते निर्माण सक्ने उल्लेख छ। 

निर्माण समितिले सबै रकम खातामा निकाली सके पनि हाल कनकाई नगरपालिकाले भने उक्त विद्यालयको भवनको निर्माण कार्य रोक्न निर्देशन दिएको छ। आफूहरू निर्वाचनमा भएको र निर्वाचित भएर आएपछि उक्त विद्यालयमा जाँदा भवन जतिबेला भत्किन सक्ने अवस्था भएकोले तत्काल कार्य रोक्न निर्देशन दिएको कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदीले बताउनुभयो। 

भवन निर्माण रोक्न निर्देशन दिए पनि नगरपालिकाकै कर्मचारीको मिलेमतोमा रकम सबै निकासा भइसकेको पाइएको वडाध्यक्ष सुवेदीको भनाइ छ। यसबारेमा कनकाई नगरपालिकाका शिक्षा शाखा अधिकृत हरिप्रसाद मिश्रले रकम निकासा नगरे फ्रिज भएर जाने भएकोले रकम निकासा गरेको तर विद्यालयले बनाएको उक्त भवन भने फेरि नभत्काइ नहुने अवस्थाको पाइएको बताउनुभयो। “कतिपय अवस्थामा हाम्रो पनि गल्ती कमी कमजोरी भएको होला तर रकम फ्रिज गर्नुपर्ने भएर जिम्मेवार शिक्षक व्यवस्थापन समितिका पदाधिकारीले आफ्नै गोजीको पैसा हालेर भए पनि अर्को भवन बनाउँछु भन्नुभएको छ। सायद आफ्नै तलबबाट भवन बनाउनुहुन्छ होला।” मिश्रले भन्नुभयो। 

भवन निर्माण समितिका अध्यक्ष गायत्रीबहादुर कार्कीले आफू भवन निर्माण समितिको अध्यक्ष भए पनि ‘रबर स्ट्याम्प’ मात्रै भएको बताउनुभयो। आफूलाई कसले पैसा दिएको, कस्तो भवन बनाउने, ठेकेदार को हो भन्ने बारेमा समेत केही जानकारी  नभएको भवन निर्माण समितिका अध्यक्ष कार्कीको भनाइ छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र डाँगीले आफूहरूले पुरानो भवनमाथि विद्यालयको तला थप्नु गल्ती भएको स्वीकार गर्नुभयो। “दुई चार लाख बचाएर विद्यालयको खातामा रकम राख्न खोजेको, उल्टो समस्यामा परियो,” डाँगीले भन्नुभयो। विद्यालयका प्रअ डम्बर फुयाँलले भवन निर्माणमा गल्ती भएको भन्दै अब बाँकी काम इन्जिनियरको सल्लाहअनुसार गरिने बताउनुभयो। 

विद्यालयले दह्रो जग हालेर नयाँ भवन बनाउनु पर्नेमा रड बिनाको पुरानो टिनको भवनमाथि अर्को तला थपेको थियो भने ढलान र बिममा समेत कमसल निर्माण गरिएको पाइएपछि यस क्षेत्रका सचेत स्थानीयले विरोध गर्दै हेल्लो सरकारमा समेत उजुरी हालेका थिए। कक्षा ५ सम्मको अनुमति भए पनि हाल उक्त  विद्यालयले निजी स्रोतबाटै कक्षा ९ सम्मको अध्यापन गराउँदै आएको थियो । उक्त विद्यालय यस अघिसमेत पटक–पटक जिल्ला प्रदेश र देशकै उत्कृष्ट विद्यालय घोषणा हुँदै आएको थियो।