• ७ जेठ २०८१, सोमबार

पर्यटकको बसाइ लम्ब्याउन सहकार्य

blog

सन्तोष सुवेदी

कास्की, साउन ६ गते । पोखरामा आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन आवश्यक रहेको पर्यटन व्यवसायीले बताएका छन् ।  कोरोना महामारीले थला परेको पोखराको पर्यटन क्षेत्र तङ्ग्रिन थालेको अवस्थामा पोखराको नयाँनयाँ पर्यटकीय गन्तव्य पहिचान र विकास गर्नुपर्ने उहाँहरुको जोड छ । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वागत गर्न होटल सङ्घले पोखरामा आयोजना गरेको कार्यक्रममा उहाँहरूले महानगर र सङ्घको सहकार्य र साझेदारीमा पोखरामा आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिने बताउनुभयो । 

महानगर प्रमुख धनराज आचार्यले यसअघिका बजेटमा पर्यटन क्षेत्रका लागि थोरै बजेट विनियोजन हुँदै आएकामा चालू आर्थिक वर्षको बजेटमा ५८ करोड रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो । 

सडक विस्तारलगायतका कारणले पोखरा र वरपरका पर्यटकीय गन्तव्य मासिँदै गएको चर्चा गर्दै उहाँले भन्नुभयो, “नयाँ गन्तव्य खोजी गर्नुपर्छ र पोखरा भ्रमणमा आउने पर्यटकको बसाइ दुई दिनबाट बढाएर पाँच दिन बनाउनुपर्छ ।” यसका लागि महानगर र व्यवसायी मिलेर अगाडि बढ्न सकिने उहाँले बताउनुभयो । 

लेकसाइडलगायत सिङ्गो पोखराको सुरक्षा, पार्किङ व्यवस्थापन, ट्याक्सीमा मिटर जडान, प्रदूषण नियन्त्रण र फोहोर व्यवस्थापनको विषयमा समेत महानगर सचेत रहेको प्रमुख आचार्यले जानकारी दिनुभयो । पोखरा महानगरभित्र सानो रिङरोड छुट्याएर त्यसको सौन्दर्यीकरण गर्ने तथा ट्राफिक बत्ती र सीसीटीभी क्यामरा व्यवस्थाका लागिसमेत महानगरले काम अगाडि बढाउने उहाँले जानकारी दिनुभयो ।

सङ्घ अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा आउने पर्यटकमध्ये ४० प्रतिशत आन्तरिक पर्यटक रहेको जानकारी दिनुभयो । उहाँले कोभिड–१९ का कारण पर्यटन क्षेत्रका हजारौंँ मजदुर र व्यवसायी विस्थापित भएको बताउनुभयो । 

पछिल्लो समय पोखरा आउने पर्यटक घटे पनि आगामी सेप्टेम्बर महिनादेखि पर्यटक आगमन बढ्ने आशा उहाँले व्यक्त गर्नुभयो । सुवेदीले पोखरामा नयाँ गन्तव्य, पर्यटक सङ्ख्या र उनीहरूको बसाइ अवधि बढाउन सङ्घ महानगरसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । 

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवं सङ्घका सल्लाहकार विश्वशङ्कर पालिखेले पोखरामा बन्दै गरेको नयाँ विमानस्थलबाट कुनकुन विमान कम्पनीले सेवा दिने हो भन्ने विषयमा पूर्वतयारीका लागि वायुसेवा सञ्चालक सङ्घ नेपालसँग छलफल र सहकार्य गरिनुपर्ने सुझाव दिनुभयो । 

विमानस्थलको धावनमार्ग दुई हजार पाँच सय मिटरबाट विस्तार गरी तीन हजार मिटर बनाइनुपर्ने र क्यासिनो सुरु गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । होटल सङ्घ नेपाल गण्डकी अध्यक्ष हरि शर्मा गैरेले महानगरका कर्मचारीको व्यवहार सुधार गर्दै घुसखोरी र भ्रष्टाचार अन्त्य गर्न महानगर प्रमुख आचार्यलाई सुझाव दिनुभयो । यस्तै महानगरमा पर्यटनका लागि अलग शाखाको व्यवस्था र पोखरा दृश्यावलोकनका लागि एकद्वार प्रणालीको व्यवस्थाका लागिसमेत उहाँले बताउनुभयो । 

हानका सदस्य एवं होटल सङ्घ पोखरा नेपालका सल्लाहकार भरतराज पराजुलीले नयाँ विमानस्थलबाट पोखराको मुख्य सहरी क्षेत्रसम्म फराकिलो र व्यवस्थित सडक निर्माण गरिनुपर्ने बताउनुभयो । 

यसैगरी सङ्घका सल्लाहकार गोविन्दराज पहारीले पोखरालाई पर्यटकीय राजधानी बनाउन महानगरले गरेको प्रयास सराहनीय भएको भन्दै फोहोर व्यवस्थापनमा समेत उत्तिकै ध्यान दिएर अगाडि बढ्न सुझाव दिनुभयो ।