• ३ असार २०८१, सोमबार

एसपीपीबारे जानकारी गराउन सभामुखको रुलिङ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ५ गते । सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा सत्तारूढ र प्रतिपक्षी सांसदहरूले एसपीपीको अवस्थाका विषयमा जानकारी माग गर्नुभएपछि सभामुख सापकोटाले सो रुलिङ गर्नुभएको हो ।

सभामुख सापकोटाले सांसदहरूले सदनमा उठाउनुभएको एसपीपीबारे आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘माननीय सदस्यहरुले उठाउनु भएको एसपीपी सम्बन्धमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाको सम्बन्धमा सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’

मन्त्रीपरिषद् बैठकले एसपीपी सम्झौता लागू नगर्ने निर्णय गरेको लामो समय भएपनि परराष्ट्र मन्त्रालयले यसबारे अमेरिकालाई पत्राचार गरेको छैन । सरकारले पत्र नपठाएको सम्बन्धमा सदनलाई जानकारी दिन बिहीवार सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले माग गर्नुभएको थियो ।