• ३ असार २०८१, सोमबार

पार्टीको कार्यदिशाअनुरुप काम गर्न नेता नेपालको आह्वान

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ५ गते । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको संविधानले निर्दिष्ट गरेको अधिकार कार्यान्वयन र पार्टीको कार्यदिशाअनुरुप समाजवाद उन्मुख कार्यमा लाग्न पार्टी पङ्तिलाई आह्वान गर्नुभएको छ । पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा उहाँले सो आह्वान गर्नुभएको हो ।

प्रचार विभाग प्रमुख एवम् पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार पार्टीको आह्वान कार्यान्वयनका लागि सबै जनप्रतिनिधिहरुले लिखित प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पार्टीको घोषणापत्रमा प्रस्तुत गरिएका प्रतिबद्धतालाई पूर्ण रुपमा कार्यान्वयन हुने उहाँले बताउनुभयो । 

भ्रष्टाचार, ढिलासुस्ती र अनियमितताजस्ता जनविरोधी कामहरु समाप्त पार्न आफ्नो ठाउँबाट संघर्ष गर्ने, शिक्षा र आधारभूत स्वास्थ्य सेवा सुलभ गराउने, मानवअधिकारको सुनिश्चित गर्न सार्वजनिक लगानी गर्ने, समाजवाद निर्माणको अनिवार्य शर्तअनुरुप मानव संशाधन विकासमा लगानी बढाउने प्रतिबद्धता जनप्रतिनिधिहरुले गर्नुभएको छ ।  

यससँगै समाजवादीको अभिमुखीकरण कार्यक्रममा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै कृषि उत्पादन र कृषककको उत्पादनको बिक्रि व्यवस्था गर्ने, सबैखाले विभेदको अन्त्य गर्ने, बजेट र प्राप्त अन्य स्रोत साधनको अधिकतम सदुपयोग एवम् यसलाई अधिकतम जनमुखी बनाउने विषयमा जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाउनुभएको छ ।  

फरक पहिचान भएका र तेस्रो लिङ्गी समुदायका मानिसहरुको समानता र सम्मानपूर्वक व्यवहार, श्रमजीविलाई लक्षित गर्दै बाल स्याहार केन्द्र स्थापना, जनताकाबीचमा मेलमिलाप र साम्प्रदायिक सदभाव कायम गर्ने लगायत प्रतिवद्धता जनाउनुभएको प्रवक्ता खतिवडाले बताउनुभयो ।