• २८ फागुन २०८२, बिहिबार

‘औषधी उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइने’

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतम। फाइल तस्बिर ।

काठमाडौँ, फागुन २८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले नेपालका औषधी उद्योगलाई आत्मनिर्भर मात्र नभई निर्यातमुखी बनाउनुपर्ने बताउनुभएको छ । 

नेपाल औषधी उत्पादक सङ्घले आजदेखि सुरु गरेको १०अाैँ नेपाल फर्मा एक्स्पोको आज यहाँ आयोजित कार्यक्रममा मन्त्री डा गौतमले सरकार, निजी क्षेत्र र सरोकारवालाबीच समन्वय गरेर काम गर्न सके नेपालको औषधि उद्योगलाई आत्मनिर्भर मात्र नभई निर्यातमुखी बनाउन सकिने बताउनुभयो । नेपालको औषधि उद्योगले पछिल्ला वर्षमा उल्लेखनीय प्रगति गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो । 

मन्त्री डा गौतमले कच्चापदार्थको मूल्य बढे पनि नेपाली औषधी कम्पनीले पहिलाकै मूल्यमा औषधी बेच्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि नेपालको औषधी नियमन प्रणालीलाई हालको अवस्थाबाट अझ उच्चस्तरमा पुर्‍याउन सुझाव दिएको उल्लेख गर्दै त्यसअनुसार सुधारका काम अघि बढाइएको जानकारी दिनुभयो । नेपालको औषधि उत्पदान बढाउनुपर्ने आवश्यकता रहेको उहाँले आँैल्याउनुभयो । 

नेपालमा हाल बजारमा २४ हजार प्रकारका औषधी उपलब्ध छन् तर परीक्षण गर्ने क्षमता भने वार्षिक करिब ६४० प्रकारमा मात्र सीमित छ । कच्चापदार्थ गुणस्तरीय ल्याउन सके मात्र औषधीको गुणस्तर बढ्ने मन्त्री डा गौतमले बताउनुभयो । 

स्वास्थ्य सचिव डा विकास देवकोटाले स्वदेशी औषधि उत्पादन बढाउने, औषधीको उपलब्धता सुनिश्चित गर्ने र औषधीमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य सरकारको नीति रहेको बताउनुभयो । उहाँले स्वदेशी औषधी उद्योगले नेपाली जनताको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उहाँले उल्लेख गर्नुभयो । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत उपलब्ध हुने सेवामध्ये सबैभन्दा बढीले औषधिसँग सम्बन्धित सेवा लिने गरेको सचिव डा देवकोटाले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले औषधी क्षेत्रमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने स्पष्ट सरकारी नीति आवश्यक रहेको बताउनुभयो । उहाँले देशभित्र उत्पादन हुन सक्ने औषधीलाई प्राथमिकता दिने नीति सरकारले प्रभावकारी रूपमा लागू गर्नुपर्ने बताउनुभयो ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले स्वास्थ्य बिमा कार्यक्रम र अस्पतालमा आधारित फार्मेसीमा स्वदेशी औषधिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले स्वदेशी औषधी उद्योगलाई प्रोत्साहन गर्नु स्वास्थ्य प्रणाली सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयो । 

औषधि उत्पादन सङ्घका अध्यक्ष विप्लव अधिकारीका अनुसार एक्स्पोमा २०० भन्दा बढी कक्ष रहने छन् । यसमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चापदार्थ, प्याकिङ उत्पादक र मेसिनरीको प्रदर्शन प्रमुख रूपमा रहने जानकारी दिनुभयो । यसअघि चितवनमा हुँदै आएको एक्स्पो यसपटक काठमाडौँस्थित भृकुटीमण्डपमा हुन थालेको हो । उहाँका अनुसार एक्स्पोमा ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीको सहभागिता रहेको छ । एक्स्पो आगामी शनिबारसम्म सञ्चालन हुनेछ । रासस