• २८ फागुन २०८२, बिहिबार

रुकुमपश्चिमका ९४९ निर्वाचन प्रहरीको बिदाइ

blog

निर्वाचन प्रहरीलाई प्रमाणपत्र प्रदान गरिँदै । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, फागुन २८ गते । फागुन २१ गते सम्पन्न निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीहरुको औपचारिक रुपमा बिदाइ गरिएको छ । बिहिबार जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल ४७ नम्वर गुल्म रुकुम पश्चिमले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेर धन्यवाद तथा बिदाइ कार्यक्रम सम्पन्न गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय अन्तर्गत भर्ना भएका ८५३ र सशस्त्र प्रहरी बल अन्तर्गत भर्ना भएका ९६ जना गरेर जम्मा ९४९ जना निर्वाचन प्रहरीको बिदाइ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटहरुका निर्वाचन प्रहरीको बिदाइ गरिएको हो । निर्वाचनमा परिचालन भएको र पायक पर्ने स्थानमा सम्पर्कको लागि बोलाएर औपचारिक रुपमा बिदाई गरिएको उहाँले जानकारी दिनुभयो । निर्वाचन प्रहरीहरुले निर्वाचनको सुरक्षामा पुर्‍याएकाे योगदानको कदर गर्दै प्रशंसा पत्रसहित बिदाइ गरिएको उहाँले जानकारी दिनुभयो । 

सशस्त्र प्रहरी बल नेपाल ४७ नम्वर गुल्मका प्रहरी निरीक्षक झक्कु प्रसाद शर्माले कार्यालय परिसरमा औपचारिक कार्यक्रम आयोजना गरेर ९६ जना निर्वाचन प्रहरीको बिदाई गरिएको जानकारी दिनुभयो । 

गत माघ १८ गते निर्वाचन प्रहरी भर्ना गरिएको थियो । निर्वाचन प्रहरीहरुले ४० कार्यदिनको जिम्मेवारी बोकेर निर्वाचनमा परिचालन भएका थिए ।