सुजल श्रेष्ठ
प्युठान, फागुन २८ गते । झिमरुक नदीको किटघाटमा पक्की पुल निर्माण भएपछि स्थानीयहरू खुशी भएका छन्। झिमरुक गाउँपालिकाको वडा नं. ६ र ७ लाई जोड्ने कुटिचौर–कुता–तुषारा सडक खण्डअन्तर्गत झिमरुक नदीमा पक्की पुल निर्माण सम्पन्न भएपछि यातायात सञ्चालनमा सहजता आएको छ।
“वर्षौँदेखि स्थानीयको चाहना पूरा भएको छ,” स्थानीय इन्द्रमणी पोख्रेलले बताउनुभयो। “अब गाउँमा बाह्रै महिना यातायात चल्नेछ।” पुल नहुँदा झिमरुक नदी तरेर सवारी साधन वारपार गर्नुपर्ने बाध्यता थियो। यो पुलले हिड्डाँडा, तुषारा, दिहाल्ना, खवाङ, पुँजा, लिवाङ, र रजवारा क्षेत्रका नागरिकलाई सहज यात्रा सुविधा दिनेछ।
लुम्बिनी प्रदेशअन्तर्गत सडक पूर्वाधार विकास कार्यालय प्युठान मार्फत पुल निर्माण सम्पन्न भएको हो। पुल निर्माणमा ४ करोड ८७ लाख ६३ हजार ४४८ रुपैयाँ लागत भएको थियो। कुल ४६.८५ मिटर लम्बाईको पुल निर्माण कम्पनी आँसु निर्माण सेवा, प्युठान ले बनाएको हो।