• २८ फागुन २०८२, बिहिबार

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

blog

तस्बिर : लीलाधर वली

भैरहवा समाचारदाता

भैरहवा, फागुन २८ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका १२ जिल्लामा समानुपातिक प्रणालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्वाधिक मत ल्याउने दल बनेको छ । प्रदेशभरिका छ दलको मतपरिणाममा रास्वपा पहिलो, नेपाली कांग्रेस दोस्रो, एमाले तेस्रो, नेकपा चौथो, राप्रपा पाँचौँ र श्रम संस्कृति पार्टी छैटौँ स्थानमा देखिएका छन् ।

१२ वटा जिल्ला रहेको प्रदेशमा २६ वटा निर्वाचन क्षेत्र रहेका छन् । त्यसमध्ये २१ क्षेत्रमा रास्वपाले जितेको छ भने कांग्रेस र नेकपाले दुई/दुई र एमालेले एक क्षेत्रमा जित निकालेका छन् । रोल्पा र रुकुमपूर्वमा नेकपा पहिलो दल बनेको भए पनि अन्य सबै जिल्लामा रास्वपा पहिलो दल बनेको छ । 

समानुपातिकतर्फ लुम्बिनी प्रदेशमा रास्वपाले कुल नौ लाख २८ हजार ३५२ मत प्राप्त गरेको छ । दोस्रो ठुलो दल कांग्रेसले तीन लाख पाँच हजार ६८९, तेस्रो दल एमालेले दुई लाख ९६ हजार ५१३, चौथो दल नेकपाले एक लाख ५७ हजार ९७१ मत प्राप्त गरेका छन् । पाँचौँ दल राप्रपाले ८० हजार तीन र श्रम संस्कृति पार्टीले २३ हजार ५०३ मत पाएका छन् ।

जिल्लागत विवरण अनुसार रुपन्देहीमा रास्वपाले दुई लाख ४२ हजार ४०२ मत पाएको छ । नेपाली कांग्रेसले ५१ हजार ९४९, एमालेले ५१ हजार ५९६, राप्रपाले २८ हजार ३०३, नेकपाले ११ हजार ३४८ र श्रम संस्कृति पार्टीले आठ हजार ३५६ मत प्राप्त गरेका छन् । गुल्मीमा रास्वपाले ५२ हजार ५२ मत पाएको छ । एमालेले २८ हजार ९०५, कांग्रेस २५ हजार ५५२, नेकपा पाँच हजार ७८६, राप्रपा एक हजार ८९ र श्रम संस्कृति पार्टीले ९३६ मत पाएका छन् ।

अर्घाखाँचीमा रास्वपाले ३९ हजार ८५ मत ल्याएको छ । एमालेले २० हजार ४५१, कांग्रेस १७ हजार ६८१, नेकपा तीन हजार ९७७, राप्रपा ७२५ र श्रम संस्कृति पार्टीले ५७२ मत पाएका छन् । पश्चिम नवलपरासीमा रास्वपाले ९५ हजार ९७९, कांग्रेस २० हजार ३३४, एमाले १० हजार ७७४, राप्रपा सात हजार ५१७, नेकपा दुई हजार ९२१ र श्रम संस्कृति पार्टीले दुई हजार ७५ मत प्राप्त गरेका छन् ।

पाल्पामा रास्वपाले ५० हजार ४५२, एमाले २४ हजार ९३७, कांग्रेस २४ हजार ६, नेकपा पाँच हजार २८६, श्रम संस्कृति पार्टी तीन हजार ५५८ र राप्रपाले एक हजार ३९९ मत पाएका छन् । कपिलवस्तुमा रास्वपाले एक लाख ५४९, कांग्रेसले ४६ हजार ३९१, एमाले २५ हजार ६२०, नेकपा २२ हजार ६३, राप्रपा १७ हजार ९७४ र श्रम संस्कृति पार्टीले एक हजार ४५८ मत पाएका छन् ।

प्युठानमा रास्वपाले ३० हजार ७५२ मत पाएको छ । एमाले १६ हजार १९५, कांग्रेस १५ हजार २२६, नेकपा नौ हजार १८१, श्रम संस्कृति पार्टी ९५५ र राप्रपाले ६८५ मत प्राप्त गरेका छन् । रोल्पामा नेकपाले २५ हजार ६२ मत पाएको छ । रास्वपाले १३ हजार ६३८, कांग्रेस ११ हजार ४९९, एमालेले १० हजार नौ, राप्रपा ८८६ र श्रम संस्कृति पार्टीले ७८८ मत पाएका छन् ।

रुकुमपूर्वमा नेकपाले नौ हजार ४४३, एमालेले तीन हजार ३२९, कांग्रेसले दुई हजार ८७०, रास्वपाले एक हजार ९७०, श्रम संस्कृति पार्टीले १७७ र राप्रपाले १५४ मत प्राप्त गरेका छन् । दाङमा रास्वपाले एक लाख ३१ हजार एक मत ल्याएको छ । कांग्रेस ४१ हजार ४४८, एमाले ३३ हजार ३५५, नेकपा २३ हजार ७८०, राप्रपा पाँच हजार ८९१ र श्रम संस्कृति पार्टीले दुई हजार ५६ मत पाएका छन् ।

बर्दियामा रास्वपा ८० हजार ४४३, कांग्रेस ३१ हजार ६७७, नेकपा २५ हजार ९४८, एमाले २४ हजार २४०, राप्रपा चार हजार ४९३ र श्रम संस्कृति पार्टीले एक हजार ७७ मत पाएका छन् । बाँकेमा रास्वपा ९० हजार २९, एमाले ४७ हजार १०२, कांग्रेस ४० हजार ५६, नेकपा १३ हजार १६६, राप्रपा १० हजार ९१४ र श्रम संस्कृति पार्टीले एक हजार ४९५ मत प्राप्त गरेका छन् ।