टीकापुर समाचारदाता
टीकापुर, फागुन २८ गते । जोशीपुर गाउँपालिका–४, हस्नापुरस्थित घैलानालामा बनिरहेको पुल बजेट अभावमा रोकिएको छ । पुलको तीन वटा पिल्लरको फाउन्डेसन मात्रै तयार भएको छ । ठेक्का अनुसार पिल्लर उठाएर ढलान गर्ने र दुवै किनारमा तटबन्ध गर्नुपर्ने छ । दैनिक हजारौँ मानिस चल्ने जोशीपुर–भजनी सडकमा बनेको पुरानो पुल भत्काएर नयाँ बनाउन लागिएको हो ।
स्थानीय रामबहादुर चौधरीले भन्नुभयो, “पुग्दो बजेट र पुल समयमै सकिने निश्चित भएपछि मात्रै भत्काउन दिन्छौँ भनेका हौँ । लापर्बाही किसिमले काम गरेर छोडेको छ ।” अर्का स्थानीय दिलमाया चौधरीका अनुसार वैकल्पिक बाटो नबनाइदिँदा चार किलोमिटरभन्दा बढी फन्को मार्नु परेको छ । विद्यालय जाने बालबालिका र ज्येष्ठ नागरिकलाई धेरै समस्या भएको उहाँ बताउनुहुन्छ । पुलको छेउमै घर भएका बालकृष्ण चौधरीले किनार भत्काइसकेकाले समयमा काम नभए आफ्नो घर यसै वर्ष भत्काउने चिन्ता बढेको बताउनुभयो ।
साढे एक वर्षमा काम सक्ने गरी दुई करोड रुपियाँको लागतमा पुलको ठेक्का भएको थियो । पुलको फाउन्डेसन बनाइसकेपछि छुट्याएको बजेट सकिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयबाट ठेक्का लिएका निर्माण व्यवसायी एकेन्द्र मल्लले भन्नुभयो, “दुई करोडमा ठेक्का सम्झौता भएको हो । विनियोजन भएको ५० लाखको काम सकियो । अहिले थप बजेट नभएपछि साइट छोडेका छौँ ।” एक वर्ष छ महिना ठेक्का अवधि भएकाले प्रदेश सरकारले बजेट थपेमा यसै वर्षमा थप काम हुने मल्लको भनाइ छ ।
कैलालीका बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाको माथिल्लो भेगबाट तल्लो भेक जाने र भजनी नगरपालिका जाने मानिस यही सडक भएर ओहोरदोहोर गर्छन् । साधन हुनेलाई अहिले वैकल्पिक बाटो भए पनि पुल नबने वर्षामा धेरै समस्या हुने रामबहादुरको भनाइ छ ।