हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), फागुन २८ गते । फागुन २१ गते सम्पन्न निर्वाचनका लागि मुस्ताङमा खटिएका निर्वाचन प्रहरीले पारिश्रमिक र सेवासुविधा कटौती गरिएको भन्दै असन्तुष्टि जनाएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङले भने तोकिएकै सुविधा उपलब्ध गराइएको जनाएको छ।
४० दिन खटिएका निर्वाचन प्रहरीले प्रतिबद्धताअनुसार ५३ हजार रुपियाँ पाउनुपर्नेमा ४८ हजार रुपियाँ मात्र पाएको भन्दै प्रहरी कार्यालयमा पुगेर आक्रोश व्यक्त गरेका थिए। तर जिल्ला प्रहरी कार्यालय मुस्ताङले विज्ञप्तिमार्फत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधिअनुसार तोकिएको सुविधामा कुनै कटौती नभएको स्पष्ट पारेको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष बस्यालले निर्वाचन सफल बनाउन निर्वाचन प्रहरीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उपलब्ध स्रोतसाधन दुरुपयोग गर्ने कुरा असम्भव रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हिमाली जिल्लामा धेरै पाइन्छ भन्ने अपेक्षासहित आउनुभएकाहरूले असन्तुष्टि व्यक्त गर्नुभएको हुन सक्छ। भर्ना सूचनाअनुसार पाउनुपर्ने सबै सुविधा उहाँहरूको खातामा जम्मा गरिसकिएको छ।”
प्रहरी निरीक्षक बस्यालका अनुसार निर्वाचन प्रहरीलाई ४० दिनको तलब ३४ हजार ७७६ रुपियाँ, खाद्यान्न सुविधा १२ हजार ३२८ रुपियाँ तथा यातायात र खाना खर्चबापत १ हजार २०० रुपियाँ उपलब्ध गराइएको छ।
यता निर्वाचन प्रहरीका रूपमा खटिएकी थासाङ गाउँपालिका–४ लेते देउरालीकी अस्मिता विकले भने स्थानीय भत्तालगायतका सुविधा नपाएको भन्दै असन्तुष्टि जनाउनुभयो। उहाँका अनुसार सुरुवातमा गरिएको आश्वासनअनुसार सुविधा नपाउँदा आफूहरू मर्कामा परेका छन्।
मुस्ताङमा नेपाल प्रहरीतर्फ २६६ जना र सशस्त्र प्रहरी बलतर्फ ४६ जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो।