• २८ फागुन २०८२, बिहिबार

बालिका बलात्कारपछि हत्या

blog

निष्पक्ष छानबिनको मागसहित र्‍याली

निष्पक्ष छानबिन गर्न परिवारको माग, चार जना पक्राउ

सुर्खेत समाचारदाता 

सुर्खेत, फागुन २८ गते । गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ को सहिद पार्कनजिकको जङ्गलमा एक बालिकालाई बलात्कार गरी हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरिएको छ । गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्ने १६ वर्षीय बालिका इनिशा विकलाई चार जना किशोरले बलात्कारपछि हत्या गरेको भन्दै आफन्तले निष्पक्ष छानबिनको माग गरेका हुन् । 

यद्यपि सुर्खेत प्रहरीले घटनामा संलग्न भनिएका चार जना किशोरलाई पक्राउ गरिसकेको छ । निष्पक्ष छानबिन गर्न र पीडकलाई कडा कारबाहीको माग गर्दै आफन्तजन, अधिकारकर्मीले प्रशासनमा ध्यानाकर्षणपत्र बुझाएका छन् । आफन्तजनले बुधबार वीरेन्द्रनगर बजारमा न्याय पाउनुपर्ने, निष्पक्ष छानबिन गर्नुपर्ने मागसहित ¥याली गरेर प्रशासनमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । बालिकाका दाजु चक्र विकले उज्यालो भविष्य बोकेकी बहिनीको क्रुरतापूर्वक जघन्य अपराध गरिएकोमा घटनाबारे निष्पक्ष छानबिन गर्नुपर्ने बताउनुभयो । 

उहाँले दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्नुभयो । महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा जघन्य अपराधका घटनालाई दोहोरिन नदिन आग्रह गर्दै उहाँले यस घटनाले घरपरिवार मात्र नभई सिङ्गो समाज नै स्तब्ध भएको जनाउनुभयो । परिवारजनले भने बालिकाको शव बुझेका छैनन् । निष्पक्ष छानबिन गरी न्याय नपाएसम्म शव नबुझ्ने उनीहरूले बताएका छन् । मृतकका परिवारले बालिकाको सामूहिक बलात्कारपछि मृत्यु भएको भन्दै कर्तव्य ज्यान तथा जबरजस्ती करणीको जाहेरी दिएको छ । घटनास्थलको अवस्था हेर्दा सामूहिक बलात्कारपछि हत्या नै गरेको परिवारको दाबी छ । बालिकाका आमा तिला विकले दोषीलाई आजीवन कैद गर्नुपर्ने भन्दै आफूलाई न्याय दिन आग्रह गर्नुभयो । आफ्नी छोरीलाई सामूहिक बलात्कार गरी हत्या गरिएको भन्दै उहाँले न्याय पाउनुपर्ने जनाउनुभयो । 

चार किशोर पक्राउ 

बुलबुले समाचारदाताका अनुसार सुर्खेत प्रहरीले उक्त घटनामा संलग्न भएको अभियोमा चार जना किशोरलाई पक्राउ गरेको छ । सुर्खेत प्रहरीले हाल वीरेन्द्रनगर बसोबास गर्ने चार जनालाई पक्राउ गरेको हो । १६ वर्षीय एक किशोरलाई घटना भएकै दिन शनिबार घटनास्थलबाटै पक्राउ गरेको थियो । पीडित परिवारले आइतबार दिएको जाहेरीका आधारमा थप तीन जना १६, १७ र १८ वर्षीय किशोरलाई पक्राउ गरेको सुर्खेतका प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले बताउनुभयो । उहाँका अनुसार चार जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । गत शनिबार बिहान ६ बजे ट्युसन पढ्न गएकी विक भोलिपल्टसम्म घर नआएपछि खोजी गर्दा सहिद पार्कनजिकको जङ्गलमा बालिका बेहोस अवस्थामा फेला परेकी थिइन् । घटनास्थलमा रक्ताम्मे शरीरमा भेटिएकी बालिकालाई प्रदेश अस्पताल कालागाउँ पु¥याएलगत्तै बालिकाको मृत्यु भएको थियो ।