नौरते नेपाली
सिँजा (जुम्ला), फागुन २८ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्वास्थ्य सेवा प्रवाह मात्र होइन, पछिल्लो समय चिकित्सा शिक्षा अध्ययनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । प्रतिष्ठानमा अहिले देश तथा विदेशबाट विद्यार्थी अध्ययनका लागि आउन थालेका छन् । देशका सुविधासम्पन्न सहर छाडेर जुम्ला चिकित्सा शिक्षा अध्ययनको गन्तव्य बन्न थालेको छ । अहिले नेपालका मात्र होइन, छिमेकी राष्ट्र भारतबाट समेत विद्यार्थी जुम्ला आएर डाक्टरी अध्ययन गरिरहेका छन् । प्रतिष्ठानको शैक्षिक सत्र २०८२ का लागि भारतका पाँच जनासहित नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका गरी १३० जना विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि जुम्ला आएका छन् ।
प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीका अनुसार एमबिबिएसतर्फ ५० जना, नर्सिङतर्फ २० जना, बिएनएसतर्फ २० जना, बिपिएचतर्फ २० जना, बिएससी नर्सिङतर्फ २० जना र बी फार्मातर्फ २० जना विद्यार्थी अध्ययनका लागि भर्ना भएका छन् । सुगम क्षेत्र छाडेर पनि विद्यार्थी जुम्ला आउने क्रम बढिरहेको धामीले बताउनुभयो । सीमित स्रोतसाधन र राज्यको उपेक्षाबिच पनि जुम्ला देशकै रोजाइ बन्नु गौरवको विषय भएको उहाँको भनाइ छ । गत वर्ष विभिन्न सङ्कायमा १०४ जना नयाँ विद्यार्थी भर्ना भएका थिए । यस वर्ष २६ जना थपिँदा कुल १३० जना विद्यार्थी एमबिबिएस, बिएनएस, बी फार्मा, बिएससी नर्सिङ र बिपिएचलगायतका विषय अध्ययन गर्न जुम्ला पुगेका छन् । प्रतिष्ठानका उपकुलपति डा. पूजन रोकायाले प्रतिष्ठानलाई विश्वास गरेर अध्ययनको गन्तव्य बनाएका विद्यार्थीलाई स्वागत गर्दै उनीहरूलाई देशकै अब्बल जनशक्ति बनाउने लक्ष्यका साथ अध्यापन गराइने बताउनुभयो । सङ्घीय राजधानी काठमाडौँका सुविधासम्पन्न विश्वविद्यालय छाडेर कर्णालीलाई गरेको विश्वासले प्रतिष्ठानलाई थप जिम्मेवार र गौरवान्वित बनाएको उहाँको भनाइ छ ।
दाङबाट एमबिबिएस अध्ययन गर्न जुम्ला आएका विद्यार्थी अमय आचार्यले सुनेकोभन्दा देखेको जुम्ला धेरै फरक लागेको बताउनुभयो । जुम्लालाई अत्यन्त दुर्गम छ भन्ने भ्रम फैलाइएको उल्लेख गर्दै उहाँले चिकित्सा शिक्षा अध्ययनको केन्द्र मात्र नभई भाषा, साहित्य, संस्कृति, जडीबुटी तथा प्राकृतिक रूपमा अत्यन्त सुन्दर रहेको बताउनुभयो ।
भारतको दिल्लीबाट आफ्नी छोरी रेन्जु सिंहलाई एमबिबिएस अध्ययनका लागि लिएर आएका बुवा राघवेन्द्र सिंहले जुम्ला नेपालकै सुन्दर र शान्त क्षेत्र भएको बताउनुभयो । भारतका सुविधासम्पन्न विश्वविद्यालय छाडेर जुम्ला रोज्नुमा यहाँको शान्त वातावरण र गुणस्तरीय शिक्षा मुख्य कारण रहेको उहाँको भनाइ छ ।