• २८ फागुन २०८२, बिहिबार

पुल बनेपछि आउजाउमा सहज

blog

कर्णाली नदीमाथि रास्केकोटमा बनेको झोलुङ्गे पुल । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता 

कालीकोट, फागुन २८ गते । कर्णाली नदीमाथि पुल बनेपछि सर्वसाधारणलाई आउजाउमा सहज भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–१ को रेगिल र खाँडाचक्र नगरपालिका–३ को रास्केकोटमा झोलुङ्गे पुल बनेपछि आउजाउ गर्न सहज भएको हो । 

वडा नं. ३ ताडीको पशुचौपाया पाल्ने, रास्सेकोटमा यसअघि पुल नहुदा पशुचौपाया पाल्ने नागरिकलाई निकै दुःख हुने गरेको थियो । अहिले यहाँ झोलुङ्गे पुल निमार्णपछि सहज भएको छ । स्थानीय मनिराज पाण्डेले यहाँ पशुचौपायाका लागि प्रशस्त घाँस हुने भएकाले गाउँका सबैले गोठ बनाएका थिए । पहिला त यहाँ धेरैको बसोबाससमेत थियो । जिल्लामा सडक पुगेपछि बसाइ पातलो भयो तर पशुचौपाया पाल्ने किसानका लागि भने रास्केकोट निकै उपयोगी भएकाले यहाँ बस्ने किसानका लागि झोलुङ्गे पुल अति उपयोगी भएको पाण्डेको भनाइ छ । रास्केकोट, बाढिच्युरा, लामाखर्क सिम, धनाडी, कुनालगायतका ३० घरधुरीका बासिन्दालाई पुलले सहज भएको छ । 

पुल बनेपछि यहाँका भैँसीको दुध स्थानीय बजारमा पु¥याउन पनि सहज भएको छ । रास्केकोट क्षेत्रमा भैँसी पाल्ने ठाउँ भए पनि यहाँको दुध बजारमा पुगाउन दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता थियो । स्थानीय माधवप्रसाद पाण्डेले अहिले पुल बन्दा फुकोट कर्णाली अर्धजलाशययुक्त आयोजनाको निर्माण क्षेत्रमा काम गर्ने कर्मचारी र मजदुरका लागि दुध पु¥याउन किसानले रेगिलको पुल भएर दुई घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता हटेको बताउनुभयो । 

अहिले दुध लिएर घरबाट १० देखि १५ मिनेटमा रेगिल पुगिन्छ । विद्यालय पढ्ने विद्यार्थीलाई पनि सहज भएको छ । पहिला त रेगिलको पुल हुँदै घुमाउरो बाटो आउँदा विद्यार्थीलाई निकै असहज थियो । सान्नीत्रिवेणी–१ को शङ्कर माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने रास्केकोट, लामाखर्क, सिम धनाडीका बालबालिकालाई निकै सहज भएको छ । यही पुल भएर बालबालिका विद्यालय जान्छन् र स्थानीय बजारमा दुध पु¥याउँछन् ।