• २८ फागुन २०८२, बिहिबार

गोरखापत्रकर्मी पन्दाक नगदसहित सम्मानित

blog

पत्रकार पन्दाक गाउँपालिका अध्यक्ष केशर सुब्बा मेन्याङबो र उपाध्यक्ष रनमाया गुरुङबाट प्रशंसापत्र तथा ग्रहण गर्नुहुँदै । तस्विर : साहारा लिम्बू

साहारा लिम्बू 
फुङलिङ, फागुन २८ गते ।
गोरखापत्रकर्मी चन्द पन्दाक सम्मानित हुनुभएको छ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले स्थानी तहको नवौँ स्थापना दिवसको अवसरमा पन्दाकलाई नगदसहित प्रशंसा पत्रले सम्मान गरेको हो ।

पत्रकार पन्दाक गोरखापत्र दैनिकमा करिब दुई दशक अघिदेखि आबद्ध भएर जिल्लामा समेत एक दशक अघिदेखि प्रकाशन भइरहेको उज्यालो पोष्ट दैनिकको प्रकाशक समेत रहेर पत्रकारिता योगदान पु¥याउनु भएकाले उहाँलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष केशर मेन्याङबोलो बताउनुभयो ।

उहाँका अनुसार अनुसार सार्वजनिक सेवा प्रवाहलाई खोजमूलक, विश्लेषणात्मक र तथ्यपरक ढङ्गले प्रस्तुत गरी स्थानीय तहलाई जनमैत्री, विश्वसनीय र उत्तरदायीपूर्ण बनाउन भूमिका खेलेको भन्दै पत्रकार पन्दाकलाई पुरस्कृत गरिएको हो ।

पालिकाले पन्दाक सहित एक शिक्षक र ४ उत्कृष्ट कृषकलाई पुरस्कृत एवम् सम्मान गरेको छ । स्थानीय तहले कार्य सम्पादन गरेका गतिविधि, चालेका कदम, देखिएका समस्या, सेवाग्राहीको माग, स्थानीय तहले निर्माण गरेका ऐन, नियम र कार्यविधि समेतका विषयमा समेत पत्रकार पन्दाकले नियमित रिपोर्टिङ गर्नु भएकाले सम्मान गरिएको गाउँपालिकाको भनाइ छ । स्थानीय तहलाई जिम्मेवार र जवाफदेही बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका आधारमा कार्यपालिकाले निर्णय गरे बमोजिम पत्रकार पन्दाकलाई पुरस्कृत गरिएको पालिका अध्यक्ष मेन्याङबोलो जानकारी दिनुभयो ।

उत्कृष्ट कर्मचारीतर्फ हेल्थ असिष्टेन्ट विकास पुन, वडा सचिव पिपलनमान गान्छाकी र कार्यालय सहयोगी रीतादेवी विक पुरस्कृत हुनुभएको छ । शिक्षकतर्फ महाकाली आधारभूत विद्यालयका शिक्षक अभिषेक मेन्याङ्वो पुरस्कृत हुनु भएको छ । उत्कृष्ट कर्मचारी तथा शिक्षकलाई जनही नगद १५ हजारसहित पुरस्कृत गरिएको बताइएको छ ।

यसवर्ष सर्वोकृष्ट कर्मचारीतर्फको पुरस्कार दिइएन । यता कृषक तर्फ पाथीभरा याङवरक वडा नं. १ नाङखोल्याङका कुलराज न्यौपाने, वडा नं. २ थेचम्बुका तुलाराम भट्टराई, वडा नं. ३ तिरिङ्गेका सम्झा लिम्बू र वडा नं. ६ थुम्बेदिनका राजकुमार भण्डारी जनही ५० हजार रुपियाँसहित पुरस्कृत हुनु भएको छ । पुरस्कृत एवम् सम्मानित हुनेहरूलाई पालिका अध्यक्ष सुब्बा र उपाध्यक्ष रनमाया गुरुङले पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नु भएको छ ।