• १५ असार २०८१, शनिबार

विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन कठिन छ : श्रम मन्त्री कुँवर

blog

काठमाडौं, साउन ५ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन कठिनाइ भइरहेको बताउनुभएको छ । बिहीबार गैरआवासीय नेपाली संघले आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशालामा बोल्नुहुँदै मन्त्री कुँवरले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले अरबमा मृत्यु भएका नेपाली श्रमिकको शव ल्याउन नसक्नु ठूलो चुनौतीको विषय बनेको बताउनुभयो । मन्त्री कुँवरले अवैधानिक रुपमा अरबमा काम गर्न गएका र त्यही देशमा मृत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन नसकेको स्वीकार गर्नुभयो ।

विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल ल्याउने कुरामा समेत सरकारलाई चुनौती रहेको उहाँको भनाइ छ । मन्त्री कुँवरले विदेशमा मृत्यु भएका वा अलपत्र परेका नेपाली नागरिकलाई देशभित्र ल्याउनको लागि एनआरएन दुवैका दायित्व भएको बताउनुभयो ।

नेपाली श्रमिकले कमाएको रकम विदेशमा नेपाली बैंकिङ प्रणालीमा सुरक्षित गर्नसके एकमुष्ठ रेमिट्यान्स नेपाल आउने उहाँले जनाउनुभयो । मेलेसिया र साउदी अरबमा धेरै नेपाली श्रमिक रहेकाले त्यहाँ नेपाली बैंकको शाखा खोल्ने विषयमा नेपाली कानुन र विदेशको ऐनको विषयमा छलफल गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

मन्त्री कुँवरले बैंक शाखा खोल्न मिल्ने अवस्था भए नेपाली बैंकहरुसँग समन्वय गर्न सरकार तयार रहेको बताउनुभयो । त्यस्तै, विदेशबाट आउने रेमिट्यान्स हुण्डी तथा अन्य चोर बाटोबाट आउने गरेकाले यस्तो कार्य नियन्त्रणका लागि सरकारले काम अगाडि बढाउने जानकारी उहाँले दिनुभयो ।

यसैगरी, कार्यक्रमा बोल्नुहुँदै श्रम मन्त्रालयका सचिव एकनाराण अर्यालले सबैभन्दा धेरै विकृति विसङ्गति भएको क्षेत्र वैदेशिक रोजगार क्षेत्र रहेको बताउनुभयो । सचिव अर्यालले वैदेशिक रोजगारीले जीडिपीमा ५७ प्रतिशत योगदान भने पनि चाहे जति व्यवस्थित बनाउन गुनासो गर्नुभयो ।

वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानको लागि गैरआवासीय नेपाली सङ्घको सहयोग आवश्यक रहेको उहाँले औंल्याउनुभयो । खाडी मुलुकमा जाने श्रमिकको लागि दुई लाख लिने प्रचलन रहेको भन्दै त्यसको पनि सरकारले अन्त्य गर्न आवश्यक रहेको उहाँले बताउनुभयो