राममणि दाहाल
मकवानपुर, फागुन २७ गते । आमनिर्वाचनमा मतदान गर्ने मतदाता वृद्धि र सहजताका लागि जेष्ठ नागरिक र अपाङ्गमैत्री मतदानस्थल बनाउन जोड दिइएको छ ।
प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौँडाले बुधबार हेटौँडामा आयोजना गरेको निर्वाचन समिक्षा तथा धन्यवाद कार्यक्रममा सहभागी राजनीतिक दल लगायतका सरोकारवालाहरुले मतदान स्थल अपायक र असहज स्थानमा हुँदा समस्या भएको भन्दै जेष्ठ नागरिक र अपाङ्गमैत्री मतदानस्थल बनाउन जोड दिएका हुन् ।
जिल्लाका ग्रामीण क्षेत्रका कतिपय मतदान स्थल जेष्ठ नागरिक र अपाङ्गमैत्री नभएका कारण मतदान गर्न नजाने र जानेहरुका लागि पनि कष्टप्रद भएको भन्दै सहभागीहरुले अहिले भएका मतदानस्थलहरुलाई स्थानान्तरण गर्न र पहुँचलाई सहज बनाउन सुझाएका थिए ।
आमनिर्वाचनमा मतदान गर्न मतदानस्थलमा पुग्न दोस्रो जिल्ला भएर जानु पर्ने र अघिल्लो दिन नै आएर बाससमेत बस्नु पर्ने अवस्थाका मतदान स्थल भएकोले मतदातालाई समस्यासँगै प्रभाव पार्ने जोखिमलाई न्यूनीकरण गर्न थप मतदान स्थलको व्यवस्था गर्नुपर्ने सहभागीहरुले कार्यक्रममा बताएका थिए ।
कार्यक्रमका सहभागीहरुले आमनिर्वाचनमा बदर मत प्रतिशत बढ्दै गएको भन्दै मतदाता शिक्षा प्रभावकारी बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका थिए ।
कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जिल्लाको मतदाता, मतदानको अवस्था, बदर मत, बदर हुनुको कारण, मतदाता शिक्षालगायतका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले क्षेत्र नम्बर १ का २३ उम्मेदवारमध्ये पाँच जना र क्षेत्र नम्बर २ का २१ उम्मेदवारमध्ये चार उम्मेदवारको मात्र १० प्रतिशतभन्दा बढी मत प्राप्त भएको बताउनुभयो ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले राजनीतिक दल र उम्मेदवारहरुको सकारात्मक सहयोगमा आचारसंहिता पालनासहित सहज र सौहाद्रपूर्ण वातावरण निर्वाचन सम्पन्नभएको बताउनुभयो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले निर्वाचनमा सुरक्षा अवस्थाको विश्लेषणसहित तयारी गरेका कारण शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताउनुभयो।
निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले राजनीतिक दल र उम्मेदवारको विश्वास र समन्वयमा निर्वाचनका सबै प्रक्रियाहरु सहज रुपमा सम्पन्न गर्न सम्भवभएको बताउनुभयो ।
प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ मकवानपुरको कूल मतदाता तीन लाख १५ हजार ३३४ मध्ये एक लाख ८६ हजार ९६९ मत खसेकोमा एक लाख ७६ हजार ३४४ सदर मत र १० हजार ६१५ अर्थात् ५ दशमलव ६८ प्रतिशत बदर भएको छ । यस्तै समानुपातिकतर्फ मकवानपुरको कूल मतदाता तीन लाख १८ हजार ६४१ मध्ये एक लाख ८८ हजार २६६ मत खसेकोमा एक लाख ८० हजार ८०९ सदर मत र सात हजार ४५७ अर्थात् ३ दशमलव ९६ प्रतिशत बदर भएको थियो । दुई वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा निर्वाचनमा १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र रहेका थिए ।