अर्जुन काफ्ले
स्याङ्जा, फागुन २७ गते । नकवजनी चोरी मुद्धाका फरार कसूरदारलाई १८ वर्ष पछि प्रहरीले बुधबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाको टोलीले पुतलीबजार नगरपालिका–१४ का सतौ बस्ने ३८ वर्षीय नारायण लामिछाने भन्ने पूर्ण बहादुर लामिछानेलाई पक्राउ गरेको हो ।
नकवजनी चोरी मुद्धामा स्याङ्जा जिल्ला अदालतको फैसला अनसार २२ दिन कैद र छ हजार जरिवाना तोकिएका लामिछाने फरारको सुचि अनुसार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले बताउनुभयो ।
लामिछानेले २०६४ बैशाख २१ गते पुतलीबजार नगरपालिका वडा नम्बर –०१ प्रगतिनगरमा नकबजनी चोरी गर्नुभएको थियो । लामिछानेले आफूले गरेको कसूर लुकाई छिपाई गर्ने मनासायले अनुसन्धानको क्रममा आफ्नो नाम नारायण लामिछाने भनेता पनि पूर्ण बहादुर लामिछाने नाम उल्लेख गरी नागरिकताको प्रमाणपत्र लिएको अनुसन्धानबाट खुल्न आएको हो ।
लामिछानेलाई बुधबारै जिल्ला अदालत स्याङ्जामा कैद भुक्तान र जरिवानाको लागि पठाइएको चौधारीले बताउनुभयो ।