• २७ फागुन २०८२, बुधबार

इलाममा १८ जना उम्मेदवारको जमानत जफत

blog

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम) फागुन २७ गते । २१ फागुनमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलामका २७ मध्ये  १८ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि १८ उम्मेदवारको जमानत जफत भएको हो ।

इलाममा पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार क्षेत्र नं. १ मा १३ उम्मेदवारमध्ये आठ र क्षेत्र नं. २ मा १४ उम्मेदवारमध्ये एक स्वतन्त्रसहित १० जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय इलामका निर्वाचन अधिकारी देबीचरण फूयालले जानकारी दिनुभयो । 

इलाम क्षेत्र नं. १ मा ६३ हजार ९५७ मत खसेकोमा ५९ हजार ३९१ सदर भएको छ । यसको १० प्रतिशत अर्थात् पाँच हजार ९३९ मत ल्याउन नसक्दा आठ जनाको जमानत जफत भएको निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

क्षेत्र नं. १ मा जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्वाला नेपाल, नेपाल मजदुर किसान पार्टीका तुल्सी केशरी प्रजापती, मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचे, नेपाल जनमुक्ति पार्टीका डम्बरसिंह लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रामप्रसाद लिम्बू, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नारदमणी साङपाङ, उज्यालो नेपाल पार्टीका हरिबहादुर गुरुङ र जनता समाजवादी पार्टीका लिलाबहादुर सुनुवार रहनु भएको छ । यी मध्ये कसैले पनि एक हजार मत कटाउन सक्नुभएको छैन । 

उक्त क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका निश्कल राईले १४ हजार ५४३ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी श्रम संस्कृति पार्टीका विनोदकुमार नेम्बाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त गर्नु भयो । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का काजीमान कागतेले ११ हजार ९६६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले नौ हजार १६० मत र नेपाली कम्युनिष्ट पार्टीका रणबहादुर राईले सात हजार ६६५ मत प्राप्त गरी जमानत जोगाउनुभयो ।

त्यस्तै, क्षेत्र नं. २ मा ६७ हजार ६६४ मत खसेकोमा ६३ हजार ७८१ सदर भएको छ । यसको १० प्रतिशत अर्थात् छ हजार ३७८ मत ल्याउन नसक्दा १० जनाको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनु भयो ।

क्षेत्र नं. २ मा जमानत जफत हुनेमा नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, मंगोल नेशनल अर्गनाइजेशनका श्याबहादुर लिम्बू, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादरसिंह लिङदेन (लिम्बू), राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा लिम्बू तुम्बाहाम्फे, जनता समाजवादी पार्टीका बलबहादुर आङदेम्बे, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का होमप्रसाद खतिवडा र स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम रहनुभएको छ । यहाँ नेकपाका गुरुङले एक हजार १७२ मत प्राप्त गर्दा अन्य कसैले हजार मत कटाउन सक्नु भएन ।

उक्त क्षेत्रबाट निर्विचत एमालेका सुहाङ नेम्बाङले २२ हजार ४२६ मत पाउँदा निकटतम प्रतिष्पर्धी कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत प्राप्त गर्नुभयो । त्यस्तै श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४०० मत र राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले सात हजार ८१४ मत प्राप्त गरी जमानत जोगाउनुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेद्वारको जमानतजफत हुनेछ’ भन्ने उल्लेख गरिएको छ । 

यसैबिच समानुपातिका मत तर्फ इलाम जिल्लामा श्रम संस्कृति पार्टी पहिलो भएको छ । उसले ३४हजार ३२ मत पाएको छ भने दोस्रो स्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले २७ हजार ३७ मत पाएको छ। एमालेले तेस्रो स्थामा २६ हजार ८४४ मत पाएको छ ।