• २७ फागुन २०८२, बुधबार

भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागुऔषध बरामद

blog

काराकास, फागुन २७ गते । भेनेजुएलाले सन् २०२५ मा करिब ६६ टन लागुऔषध बरामद गरेको जनाएको छ । यो मात्रा अघिल्लो वर्षको तुलनामा ६४.४४ प्रतिशत बढी रहेको छ र पछिल्ला दुई दशककै सबैभन्दा ठूलो बरामद मानिएको छ । 

राष्ट्रिय लागुऔषध नियन्त्रण निकायका प्रमुख ड्यानी फेररले संयुक्त राष्ट्रसङ्घको लागुऔषध सम्बन्धी आयोगको ६९औँ बैठकमा उक्त जानकारी दिनुभएको हो । भेनेजुएलाको आन्तरिक मामिला, न्याय तथा शान्ति मन्त्रालयका अनुसार सरकारले लागुऔषध तस्करी नियन्त्रणका लागि लागु गरेको नीति तथा कम्तीमा ११ देशसँगको सहकार्यका कारण यस्तो उपलब्धि हाँसिल भएको हो ।

फेररका अनुसार सरकारले लागुऔषध तस्करीमा संलग्न अपराधी समूहलाई नियन्त्रण गर्न निगरानी र रोकथाम क्षमतामा उल्लेखनीय सुधार गरेको छ । यसका साथै, देशभित्र लागुऔषध प्रयोग घटाउन सञ्चालन गरिएका रोकथाम तथा जनचेतना कार्यक्रमबाट २५ लाखभन्दा बढी नागरिक लाभान्वित भएका छन् । रासस/सिन्ह्वा