• २७ फागुन २०८२, बुधबार

भरुवा बन्दुक पड्‌किँदा एकको मृत्यु

blog

केशव राज भट्ट 

वाशुलिङ बैतडी, फागुन २८ गते । बैतडीका एक किशोरको डडेल्धुरामा भरुवा बन्दुक पड्‌किँदा मृत्यु भएको छ ।

बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका १७ वर्षीय सुबास महराको डडेल्धुराको परशुराम नगरपालिका–२ बसौटीमा मङ्गलबार साँझ बन्दुक पड्‌किँदा मृत्यु भएको हो ।

प्रहरीका अनुसार महरा आफ्नी दिदी जानकी बोहराको घरमा गएका बेला घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा एक्कासि बन्दुक पड्किएको थियो ।

बन्दुक पड्‌किँदा गम्भीर घाइते भएका महरालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो।अस्पतालमा चिकित्सकले जाँच गर्दा उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा परशुराम नगरपालिका–२ बसौटीका गणेशबहादुर बोहरा तथा बैतडी शिवनाथ गाउँपालिका–४ का अर्का एक १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले घटनास्थलबाट भरुवा बन्दुक बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।