• २७ फागुन २०८२, बुधबार

चिडियाखानाका रोचक तथ्य : १५ वर्षे ‘बगौरा’ बाघदेखि अजिङ्गरको आहारासम्म

blog

चिडियाखानामा रहेको पाटे बाघ : ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा आराम गरिरहेको पाटे बाघ । हाल चारवटा बाघ छन् । तस्बिर : हरि जिज्ञासु /रासस

  • जावलाखेल चिडियाखानामा ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु
  • जेठो सदस्य : ७६ वर्षीया ‘पवनकली’ नामको हात्ती।
  • व्यवस्थापन : बिरामी जनावरका लागि छुट्टै क्वारेन्टाइन र उपचारको व्यवस्था।

ललितपुर, फागुन २७ गते । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित सदर चिडियाखानामा हाल ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु रहेका छन् । 

सदर चिडियाखाना तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणाले विसं १९८९ मा व्यक्तिगत रूपमा स्थापन गरी सञ्चालनमा ल्याउनुभएको थियो । पछि उक्त चिडियाखाना सर्वसाधारणका लागि खुला गरिएको हो । 

चिडियाखाना प्रशासनका अनुसार यहाँ रहेका जीवजन्तुमा नयाँ जन्मिने, मर्ने तथा जङ्गलबाट उद्धार गरेर ल्याइने गरेकाले सङ्ख्या घटबढ हुने गरेको छ । यहाँ सबैभन्दा लामो आयु भएको जनावर ७६ वर्षको ‘पवनकली’ नामक हात्ती रहेको चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार हात्तीको औसत आयु ७० देखि ८० वर्षसम्म हुन्छ ।

चिडियाखानामा रहेका चार वटा बाघमध्ये सबैभन्दा बढी उमेरको १५ वर्षको ‘बगौरा’ रहेको कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार तीन वटा गैँडामध्ये सबैभन्दा बढी उमेरको १४ वर्षको ‘बाङ्गे’ छ भने अन्य जीवजन्तु विभिन्न उमेर समूहका रहेका छन् ।

कम आयु भएका जीवमा मुसा पर्दछन् । मुसाको औसत आयु पाँचदेखि छ वर्षसम्म हुने सूचना अधिकारी कोइरालाले जानकारी दिनुभयो । चिडियाखानामा मुसा र खरायोजस्ता साना जनावर उत्पादन गरी हप्तामा एकपटक अजिङ्गरलाई आहाराका रूपमा दिने गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अजिङ्गरलाई कहिलेकाहीँ प्राकृतिक (टेस्ट) आहारा दिनुपर्ने भएकाले चिडियाखानामा उत्पादन भएका मुसा र खरायो दिने गरिन्छ । सोही कारणले जीवजन्तुको सङ्ख्यामा केही तलमाथि देखिने गर्दछ । यहाँ रहेका जीवजन्तु बिरामी परेको थाहा पाएपछि उनीहरूलाई छुट्टै क्वारेन्टाइनमा राखेर चिकित्सकहरूले उपचार गर्ने व्यवस्था गरिएको छ । 

केही जीवजन्तुले प्रजनन गरे पनि धेरैजसो जनावरले बसोबास गर्ने वातावरण पूर्ण रूपमा उपयुक्त नहुँदा प्रजनन कम हुने गरेको चिडियाखाना प्रशासनले जनाएको छ । प्राकृतिक रूपमा जङ्गलको वातावरण उनीहरूका लागि प्रजननका लागि बढी अनुकूल हुने बताइएको छ । रासस