• २७ फागुन २०८२, बुधबार

नब्बे जना उम्मेदवारको जोगिएन जमानत

blog

सुर्खेत समाचारदाता 

सुर्खेत, फागुन २७ गते । कर्णालीमा ९० जना उम्मेदवार जमानत जोगाउन असफल भएका छन् । उम्मेदवारी दिएका कुल १३८ जनामध्ये ९० जना उम्मेदवारले जमानत जोगाउन सकेनन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार सबैभन्दा धेरै सुर्खेत–२ मा १४ जना, सुर्खेत–१ मा १० जना र सल्यानमा १० जना रहेका छन् । दैलेख–१ मा छ, २ मा सात, जाजरकोटमा आठ, रुकुमपश्चिममा नौ, कालीकोटमा छ, जुम्लामा छ, डोल्पामा छ, मुगुमा चार र हुम्लामा चार जना गरी कुल ९० जना उम्मेदवार जमानत जोगाउन असफल भएका छन् । प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले सदर मतको १० प्रतिशत कटाउन नसक्दा धरौटीबापतको रकम जफत भएको जनाउनुभयो । 

कर्णाली प्रदेशमा १२ निर्वाचन क्षेत्रबाट १२ जना विजयी हुनुका साथै रास्वपा, कांग्रेस, एमाले, नेकपाका उम्मेदवारले जमानत जोगाउन मत ल्याएर बचेको र अन्य उम्मेदवार जमानत जोगाउन असफल भएका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । 

कालीकोट समाचारदाताका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा कालीकोट जिल्लाबाट प्रत्यक्ष चुनाव लडेका दलमध्ये चार जनाले जमानत जोगाउन सफल भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित छ जना उम्मेदवारको भने धरौटी जफत भएको छ । दुई स्वतन्त्रसहित आठ दलबाट १० जना चुनावी मैदानमा भए पनि चार दलका उम्मेदवारले मात्र धरौटी जोगाएका छन् । जिल्ला निर्वाचन कार्यालय कालीकोटका निर्वाचन अधिकारी विश्वमङ्गल शर्माले चार दलले धरौटी जोगाएको बताउनुभयो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाहीले सबैभन्दा बढी मत ११ हजार ७३४ मत प्राप्त गरी विजयी हुनुभयो भने नेकपा (एमाले) का नगिन्द्र शाही नेसनलले १० हजार ६४७ मत, नेपाली कांग्रेसका हर्षबहादुर बमले सात हजार ४५० र नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा प्रकाण्डले चार हजार ९९३ मत प्राप्त जमानत जोगिएको छ । धरौटी जोगाउनका लागि तीन हजार ९३८ मत ल्याउनु पर्छ । जमानत जफत हुने उम्मेदवारले मत नै कटाउन सकेनन् । 

सल्यान समाचारदाताका अनुसार सल्यानमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा चार जनाले जमानत जोगाएका छन् भने १० जना उम्मेदवारको धरौटी जफत भएको छ । कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी फिर्ता नहुने कानुनी प्रावधान अनुसार उनीहरूको धरौटी जफत भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार निर्वाचनमा खसेको ८३ हजार १६७ मतमध्ये ७९ हजार ७०९ मत सदर भएको छ भने तीन हजार ४५८ मत बदर भएको छ । सदर मतको १० प्रतिशतका आधारमा उम्मेदवारले कम्तीमा सात हजार ९७१ मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । प्राप्त मतपरिणाम अनुसार चार जना उम्मेदवारले मात्र उक्त सीमा पार गर्दै आफ्नो धरौटी जोगाउन सफल भएका छन् । नेपाली कम्युनिस्ट पार्टीका रमेशकुमार मल्ल २३ हजार १८९ मतसहित विजयी हुनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले २० हजार ९०४ मत, नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५५८ मत र नेकपा (एमाले) का गुलाबजङ्ग शाहले १५ हजार ३७३ मत प्राप्त गर्दै धरौटी जोगाएका छन् । 

नेकपा (माओवादी) का चन्द्रबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिमा नेपाली, नेसनल रिपब्लिक नेपालका डिल्लीबहादुर घर्ती, श्रम संस्कृति पार्टीका धनबहादुर बुढामगर, स्वतन्त्र उम्मेदवार युवराज वलीको जमानत जोगिएन । राष्ट्रिय जनमोर्चाकी कमला डाँगी, संयुक्त नागरिक पार्टीका कालिदास विक, नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापा क्षेत्री, मङ्गोल नेसनल अर्गनाइजेसनका बालासिंह घर्ती र स्वतन्त्र उम्मेदवार जुद्धबहादुर सिंहले जमानत जोगाउन सकेनन् । उम्मेदवारले धरौटीबापत १० हजार रुपियाँ बुझाएका थिए ।