अमरराज नहर्की
तनहुँ, फागुन २७ गते । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनामा पर्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलको करिब ७७.७ प्रतिशत काम सम्पन्न भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने उक्त पुल निर्माणले अहिले तीव्रता पाएको छ ।
मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार पुलको मुख्य संरचनागत काम लगभग सम्पन्न भइसकेको छ भने अहिले माथिल्लो संरचना र फिनिसिङका कामहरू भइरहेको छ । फाउन्डेसन र पिल्लर निर्माण जस्ता जटिल काम पूरा भइसकेकाले अब बाँकी काम चालु आर्थिक वर्ष भित्र सम्पन्न हुने गरी काम भइरहेको उहाँले बताउनुभयो ।
पुलमा छ वटा स्पान छन् । निर्माणका लागि सन् २०२२ अगस्ट ११ मा एक अर्ब २१ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । निर्माणको जिम्मा जेडआइष्ट–अन्नक जेभीले लिएको छ।
निर्माण कम्पनीका साइट इन्चार्ज इन्जिनियर धर्मप्रताप लामगादेका अनुसार पुल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । दैनिक करिब एक सय २५ जना कामदार निर्माणस्थलमा खटिएका छन् । डिजाइन परिवर्तनले गर्दा प्रारम्भिक चरणमा करिब छ महिना ढिलाइ भए पनि अहिले काम तीव्र गतिमा अघि बढाइएको उहाँले बताउनुभयो ।
मादी नदीमाथि हाल सञ्चालनमा रहेको पुरानो पुल तीन सय ७० मिटर लामो दुई लेनको छ । नयाँ पुल सोही पुलबाट करिब ५० मिटर दूरीमा निर्माण भइरहेको हो । नयाँ संरचना भने आधुनिक ‘आर्क डिजाइन’ मा आधारित चार लेनको पुल हुने भएकाले यो पृथ्वीराजमार्गकै सबैभन्दा आकर्षक र आधुनिक पुल बन्ने अपेक्षा गरिएको छ ।
आयोजनाका अनुसार पुलको डिजाइन यातायात आवागमनका लागि मात्रै नभई पर्यटक आकर्षित गर्ने हिसाबले पनि कलात्मक बनाइएको छ । पृथ्वीराजमार्ग विस्तारसँगै निर्माण भइरहेको यो पुल सञ्चालनमा आएपछि दमौली क्षेत्रमा बढ्दो सवारी चाप व्यवस्थापन गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।
पृथ्वीराजमार्ग विस्तार परियोजना एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा चार लेनमा स्तरोन्नति भइरहेको छ । यसअन्तर्गत मुग्लिन–पोखरा सडकको पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपियाँमा सम्पन्न गर्ने गरी काम भइरहेको छ ।