• १५ असार २०८१, शनिबार

आयोडिनयुक्त नुनको माग

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, साउन ५ गते । सरकारले ढुवानी खर्च बेहोरेपछि पहाडी क्षेत्रमा आयोडिनयुक्त नुनको माग बढ्दै गएको छ । नेपाल सरकारको कण्ठरोग नियन्त्रण कार्यक्रमअन्तर्गत आयोडिनयुक्त नुनको ढुवानी खर्च सरकारले बेहोरेपछि आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।

रुकुमपश्चिमस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको डिपो कार्यालयले जिल्लामा आयोडिनयुक्त नुनको माग बढ्दै गएको जनाएको छ । डिपो कार्यालयका प्रमुख पुर्णराज गौतमले रुकुमपूर्व र रुकुमपश्चिममा रहेका चारवटा वितरण केन्द्रमार्फत आयोडिनयुक्त नुन बिक्री वितरण गर्दै आएका डिपो कार्यालयले यस वर्ष मात्रै आठ हजार ३३७ क्विन्टल आयोडिनयुक्त नुन बिक्री गरेको जानकारी दिनुभयो । यस वर्ष रुकुमपश्चिममा रहेका मुसीकोट र चौरजहारी वितरण केन्द्रबाट छ हजार ६२४ क्विन्टल नुन बिक्री गरिएको छ ।

रुकुमपूर्वको रुकुमकोट र तकसेरा वितरण केन्द्रबाट एक हजार ७१३ क्विन्टल आयोडिनयुक्त नुन बिक्री गरिएको जनाइएको छ । आर्थिक वर्ष २०७८/७९ मा भने रुकुमपश्चिममा छ हजार ४२० क्विन्टल र रुकुमपूर्वमा एक हजार ४२५ क्विन्टल नुन बिक्री भएको थियो । उहाँका अनुसार यस वर्ष डिपोमा रुकुमपश्चिमका लागि प्राप्त सात हजार ७८५ क्विन्टल नुनमध्ये एक हजार १६१ क्विन्टल नुन मौज्दात रहेको छ ।

त्यसैगरी रुकुमपूर्वका लागि प्राप्त एक हजार ८९० क्विन्टलमध्ये १७७ क्विन्टल आयोडिनयुक्त नुन मौज्दात रहेको कार्यालयको तथ्याङ्कमा रहेको छ । सरकारले पहाडी क्षेत्रका दुर्गम जिल्लामा दिएको ढुवानी खर्चको अनुदानले सर्वसाधारणलाई राहत पुगेको उहाँले बताउनुभयो ।

यस्तै दुर्गम क्षेत्रका वडाहरूमा पनि सहुलियत दरमा आयोडिनयुक्त नुन उपलब्ध गराउनुपर्ने माग स्थानीयले गरेका छन् । साल्ट टे«डिङ कर्पोरेसनसँगको समन्वयमा स्थानीय सरकारले दुर्गम गाउँका पायक पर्ने स्थानसम्म ढुवानीको व्यवस्था गरे नुनको माग अझै बढ्ने बताइन्छ ।