• २६ फागुन २०८२, मङ्गलबार

सरकारले देशको समस्या पहिचान गर्नुपर्छ : डा. भण्डारी

blog

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारी

रमेश विश्वकर्मा 
गुल्मी, फागुन २६ गते।
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले अब बन्ने सरकारले देशको समस्या पहिचान गर्न जरुरी रहेको बताउनुभएको छ। गुल्मीको सदरमुकाम तम्घासमा सञ्चारकर्मीहरुसँग बोल्नुहुँदै डा. भण्डारीले अब बन्ने सरकारले देशको वास्तविक समस्या पहिचान गरी अघि बढ्न सुझाव दिनुभएको हो।

उहाँले देशको अवस्था सुधार गर्न पहिले समस्याको ‘डाइग्नोसिस’ अर्थात् पहिचान आवश्यक रहेको बताउनुभयो। देशको अहिलेको मुख्य समस्या संरचनागत रहेको उल्लेख गर्दै व्यवस्थागत सुधार बिना समृद्धि सम्भव नहुने धारणा राख्नुभयो। “यो देशको समस्या संरचनामा छ। समस्या कहाँ छ भन्ने स्पष्ट रुपमा पहिचान नगरी अघि बढ्दा समाधान सम्भव हुँदैन,” नेता भण्डारीले भन्नुभयो। वर्तमान राजनीतिक संरचनामा रहेका केही विषयमा सुधार आवश्यक रहेको पनि बताउनुभयो।

अहिलेको अवस्थामा यति धेरै माननीय आवश्यक नभएको भन्दै सांसदहरूको संख्या आधा घटाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था संविधान संशोधनमार्फत गर्नुपर्ने उहाँको भनाइ थियो। भण्डारीका अनुसार यस्तो व्यवस्था पहिले नै गरिएको भए देशमा देखिएको असन्तुष्टि र विभिन्न आन्दोलनहरू उत्पन्न हुने अवस्था नआउने थियो। उहाँले ठूलो आकारको मन्त्रिपरिषद् आवश्यक नभएको पनि उल्लेख गर्नुभयो। सरकार प्रभावकारी बनाउन सानो मन्त्रिपरिषद् आवश्यक हुने उहाँको धारणा थियो। प्रदेश सभाको निर्वाचन प्रणालीबारे पनि नेता भण्डारीले पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले प्रदेश सभा सदस्यका लागि छुट्टै निर्वाचन गर्नु आवश्यक नभएको भन्दै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलाई स्वतः प्रदेश सभाको सदस्य हुने व्यवस्था गर्न सकिने सुझाव दिनुभयो। यसो गर्दा विकाससँग प्रत्यक्ष सम्बन्ध रहने र प्रशासनिक खर्च पनि घट्ने उहाँको तर्क थियो। नेता भण्डारीले स्थानीय तहलाई दलगत राजनीतिभन्दा विकाससँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो। स्थानीय तहमा विकास केन्द्रित काम भए मात्र जनताको अपेक्षा पूरा हुने उहाँको भनाइ थियो। यसै क्रममा उहाँले राज्यको प्रशासनिक संरचना पनि व्यवस्थित बनाउनुपर्ने बताउनुभयो।

आवश्यकताभन्दा बढी कर्मचारी र सुरक्षा निकाय राख्नु उपयुक्त नहुने भन्दै दक्ष र प्रभावकारी संरचना निर्माण गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो। युवा पलायन रोक्ने विषय पनि अहिलेको प्रमुख चुनौती भएको नेता भण्डारीले बताउनुभयो। देशभित्र रोजगारी, अवसर र आशा सिर्जना गर्न नसक्दा युवाहरू विदेशिन बाध्य भइरहेको भन्दै यसलाई रोक्न राज्यले विशेष नीति ल्याउनुपर्ने उहाँको धारणा थियो। नेता भण्डारीले समग्र रुपमा देशको आर्थिक, राजनीतिक र प्रशासनिक संरचनामा सुधार गर्दै जनताको अपेक्षा अनुसार काम गर्न सके मात्र देश सही दिशामा अघि बढ्न सक्ने बताउनुभयो।