• १५ असार २०८१, शनिबार

नेपाल–चीन सीमा सडक जीर्ण

blog

चित्र मिजार

सिन्धुपाल्चोक, साउन ५ गते । उत्तरी सीमा जोड्ने २६ किलोमिटर लामो बाह्रबिसे–चीन सडक मर्मत–सम्भार अभावमा जीर्ण बन्दै गएको छ । माथिबाट भेलबाढीसहित आएको पहिरो र तलबाट भोटेकोसी नदीले कटान गरेपछि सडक जीर्ण बन्न पुगेको हो । केही दिनअघि भोटेकोसी गाउँपालिका–२, घट्टेखोलामा आएको बाढीले सो सडकखण्ड बिग्रिएको छ । भोटेकोसी नदीले तलबाट तान्दा लार्चा, कोदारी, १० किलो, डाक्लाङ, चाकु, खोकुन्डोल, नयाँपुल, सिरीसे, जम्बु, खाग्दललगायतका खण्डको सडक भासिँदै गएको छ । उक्त खण्डमा माथिबाट ठाडोखोला, खोल्छीको बाढीले सडक बगाइरहेको छ ।

सडक स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालयले बेवास्ता गरेको चाकुका सञ्जीव श्रेष्ठले गुनासो गर्नुभयो ।  सडकमाथिको भीरबाट ढुङ्गा खसेर आइरहने हुँदा दिनहुँ सडक अवरुद्ध हुने गरेको यातायात व्यवसायीले बताएका छन् । चीनको स्वशासित क्षेत्र खासा हुँदै नेपाल आयात हुने मालवाहक कन्टेनर, जलविद्युत् आयोजनाका अत्यधिक भार बोकेका गाडी, टिप्परका कारण सडकको अवस्था दिनहुँ बिग्रँदै गइरहेको छ । यात्रुवाहक बस, साना तथा मझौला सवारीसाधन जीर्ण सडकमा मुस्किलले आउजाउ गर्ने गरेका छन् ।

सडक डिभिजन कार्यालय चरीकोटको बेवास्ताका कारण सडक जीर्ण बनेको स्थानीयको आरोप छ । सडक सवारीसाधनका लागि सकसपूर्ण बनेपछि चिनियाँ सामान बोकेर राजधानी भित्रिन थालेका मालवाहक कन्टेनर कैयौँ दिन सडकमै रोकिन बाध्य छन् । सडक अवरुद्ध हुँदा बिरामी तथा सुत्केरीलाई अस्पताल लैजानसमेत कठिनाइ भइरहेको छ ।

२०७१ सालको जुरे पहिरोले बन्द हुँदै आएको उक्त सडक २०७२ वैशाख १२ गतेको भूकम्पले चिराचिरा परेको थियो । मर्मत सुधार गरेर सञ्चालन भएको सो सडक २०७३ साल र त्यसपछिको भोटेकोसी नदीको बाढीले कटान गर्दा खण्डहर बनेको थियो । 

सडकको स्तरोन्नतिका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले प्राथमिकतामा नराखेको आरोप लागिरहेको छ । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठले उक्त सडक वर्षौंदेखि तीनै तहका सरकारको उपेक्षामा परेपछि तातोपानी नाका प्रभावित भएको बताउनुभयो ।

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयअन्तर्गत नेपाल–चीन द्विपक्षीय व्यापार हुने उक्त नाका सडकको स्तरोन्नति गर्नुपर्ने उहाँले बताउनुभयो । सडकको अवस्था दयनीय भएका कारण पनि चीन सरकारले उक्त नाकाबाट व्यापरिक कारोबार गर्न आनाकानी गर्ने गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष उमेश प्रधानले बताउनुभयो । “तत्कालै सो सडक सुधार गर्नेतर्फ सबैले पहल गर्नुपर्छ,” उहाँले भन्नुभयो ।