अविनाश चौधरी
धनगढी, फागुन २४ गते । राष्ट्रिय राजनीतिमा प्रभाव पार्दै आउनुभएका सुदूरपश्चिम प्रदेशको प्रभावशाली नेता लेखराज भट्ट यस पटकको निर्वाचनमा घण्टीभन्दा पछाडि पर्नुभएको छ ।
नेकपा (एमाले) को उपमहासचिव समेत रहनुभएका उहाँ कैलाली क्षेत्र नम्बर ४ मा सोही पार्टीबाट चुनाव लड्नुभएको हो । आज बिहान पौने ८ बजे सम्मको मत परिणाम अनुसार नेता भट्ट तेस्रो स्थानमा हुनुहुन्छ ।
यस क्षेत्रबाट दुई पटक निर्वाचन जित्नुभएका उहाँले १७ हजार ३०६ मत गणना हुँदा दुई हजार ७८८ मत प्राप्त गर्नुभएको छ । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको पछि–पछि राष्ट्रिय राजनीतिमा प्रभाव पार्दै आउनुभएका उहाँले क्षेत्र नम्बर ४ बाट पाँचौँ पटक निर्वाचन लडिरहनुभएको छ । यसअघि भट्टले दुई पटक जित प्राप्त गर्नुभएको थियो । दुई पटक पराजित हुनुभएको थियो ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खेमराज कोइरालाले नौ हजार ६४ मतका साथ अग्रता लिई रहनुभएको छ । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर विष्टले तीन हजार ४०१ मत प्राप्त गरेर पछ्याइ रहनुभएको छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हरिराम चौधरीले एक हजार १३८ मत प्राप्त गर्नुभएको छ ।