अर्जुन काफ्ले
स्याङ्जा, फागुन २४ गते । स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झविलाल डुम्रे विजयी हुनुभएको छ।
फागुन १ गते सम्पन्न प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको निर्वाचनमा डुम्रेले नेपाली कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्ललाई चार हजार ५२४ मतान्तरले पराजित गर्नुभएको हो।
डुम्रेले २५ हजार ३५४ मत ल्याउँदा कांग्रेसका मल्लले २० हजार ८३० मत प्राप्त गर्नुभएको छ। यस्तै नेकपा एमालेका उम्मेदवार खिमबहादुर थापाले १४ हजार १०८ मत प्राप्त गर्नुभएको छ।
जनताले चाहेको व्यवस्था परिवर्तन विगतका पार्टीले गरेको बताउँदै डुम्रेले अब आफू वास्तविक अवस्था परिवर्तन गर्न लाग्ने बताउनुभयो। यो क्रममा घरदैलो गर्दा जनताको दुःख बुझेको बताउँदै उहाँले त्यसलाई परिवर्तन गर्ने जिम्मेवारी आफ्नो भएको उल्लेख गर्नुभयो। यहाँ दुई स्वतन्त्रसहित १२ उम्मेदवारको प्रतिस्पर्धा रहेको थियो।
यो क्षेत्रमा कालीगण्डकी गाउँपालिका, गल्याङ र चापाकोट नगरपालिका, वालिङ नगरपालिकाका ३ र ४ बाहेकका १२ वडा र भीरकोट नगरपालिकाका ५, ६, ७, ८ र ९ का मतदाताले मतदान गरेका थिए।